काठमाडौं। दक्षिण एसियाली मोटोपना फोरम (साउथ एसियन ओबेसिटी फोरम) (एसओएफ) ले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय मोटोपना कांग्रेस काठमाडौंमा आयोजना गर्ने भएको छ। स्वास्थ्य सम्मेलनमा विश्वका विभिन्न देशका करिब ४० अन्तर्राष्ट्रिय विज्ञ, १५० विदेशी प्रतिनिधि तथा नेपालभरिबाट झन्डै ४०० सहभागी एकत्रित हुने आयोजकले जानकारी दिएका छन्।
यो कांग्रेस विश्वभर तीव्र गतिमा बढ्दो सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखिएको मोटोपनाको विषयमा क्षेत्रीय तथा वैश्विक सहकार्यका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ।
सम्मेलनमा विभिन्न देशका विशेषज्ञहरूले मोटोपनाको बढ्दो प्रकोप र यसबाट उत्पन्न हुने स्वास्थ्य जटिलता जस्तै, मधुमेह, मुटु तथा रक्तनलीसम्बन्धी रोग, फ्याटी लिभर र हर्मोनल विकारबारे गहन छलफल गर्नेछन्। साथै, मोटोपनालाई केवल जीवनशैलीको समस्याका रूपमा नहेरी एक जटिल तथा दीर्घकालीन रोगका रूपमा बुझ्नुपर्ने आवश्यकतामा पनि जोड दिइनेछ।
आयोजकका अनुसार, यस कांग्रेसको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि गर्नु, प्रारम्भिक रोकथामलाई प्रोत्साहन दिनु र प्रमाणमा आधारित उपचार पद्धतिलाई व्यापक बनाउनु हो। यसका साथै चिकित्सक, अनुसन्धानकर्ता र नीतिनिर्मातालाई ज्ञान आदानप्रदान गर्ने तथा दक्षिण एसियाको विशिष्ट स्वास्थ्य परिवेशअनुकूल समन्वित रणनीति खोज्ने अवसर पनि प्रदान गर्नेछ।
क्षेत्रभर मोटोपनाको दर बढ्दै गइरहेको सन्दर्भमा विशेषज्ञले यसका कारण र परिणाम दुवैलाई सम्बोधन गर्न बहुक्षेत्रीय, तत्काल र ठोस प्रतिकार्यको आवश्यकता रहेको चेतावनी दिएका छन्। काठमाडौं कांग्रेसले संवाद, अनुसन्धान साझेदारी र क्षेत्रीय सहकार्यमार्फत यस दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।