काठमाडौं। सडक विभागले चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा (साउनदेखि चैतमसान्तसम्म २ हजार २ सय ३३ दशमलव ८० किलोमिटर सडक निर्माण तथा स्तरोन्नति सम्पन्न गरेको छ।
विभागले चालू आर्थिक वर्षमा ७ हजार ५५ किलोमिटर सडक कालोपत्रे, मर्मत, स्तरोन्नतिसहित विभिन्न शीर्षकमा निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य तय गरेको थियो। यद्यपि वर्षको तीन चौथाइ समय बित्दासमेत लक्ष्यको तुलनामा भौतिक प्रगति अपेक्षाकृत कम देखिएको छ, तर विभागले आर्थिक वर्ष सकिनुअघि नै लक्ष्य पूरा गर्ने दाबी गरेको छ।
विभागले उक्त अवधिमा कालोपत्रे (ब्लाकटपिङ), रिजिड पेभमेन्ट (कंक्रिट सडक), ग्राभेल, माटे सडक तथा ट्रयाक निर्माण गरेको छ भने राजमार्गको आवधिक मर्मत र पुनर्निर्माण तथा स्तरोन्नति कार्य पनि समानान्तर रूपमा अगाडि बढाएको छ।
२ लेनका कालोपत्रे सडकतर्फ ८ सय किलोमिटरको लक्ष्यमा ३४८ दशमलव १६ किलोमिटर निर्माण सम्पन्न भएको छ। यस्तै, ४ लेन वा सोभन्दा बढी लेन भएका कालोपत्रे सडकतर्फ १ सय ९ किलोमिटरको लक्ष्यमा ७१ दशमलव ३६ किलोमिटर पूरा भएको छ। रिजिड पेभमेन्ट अर्थात् कंक्रिट सडकतर्फ ५० किलोमिटरको लक्ष्यमा ४४ दशमलव ८० किलोमिटर निर्माण भएको छ।
ग्राभेल सडक र माटे सडकतर्फ भने तोकिएको लक्ष्यभन्दा बढी नै काम सम्पन्न भएको विभागको तथ्यांकले देखाउँछ। सब–बेसबाहेकको ग्राभेल सडकतर्फ ३० किलोमिटरको लक्ष्यमा ६९ दशमलव १६ किलोमिटर पूरा भएको छ भने माटे सडक तथा ट्रयाक निर्माणतर्फ ५२ किलोमिटरको लक्ष्यमा ७४ दशमलव ५० किलोमिटर निर्माण भइसकेको छ। राजमार्ग आवधिक मर्मततर्फ ५ सय ६ किलोमिटरको लक्ष्यमा ४९ दशमलव ४० किलोमिटर मात्र सम्पन्न भएको छ भने राजमार्ग पुनर्निर्माण तथा स्तरोन्नतिमा ५० किलोमिटरको लक्ष्यमा ४२ दशमलव ५० किलोमिटर काम भएको छ।
सडक निर्माणका साथसाथै विभागले पूर्वाधार विकासको अर्को महत्त्वपूर्ण पाटो पुल निर्माणमा पनि निरन्तरता दिएको छ। ९ महिनाको अवधिमा १ सय ६२ को लक्ष्यमा ५२ वटा पुल निर्माण सम्पन्न भएको छ।
यसैगरी ५ वटा बेली ब्रिज जडानको लक्ष्यमा ३ वटा जडान भइसकेको छ। क्र्यास ब्यारियरतर्फ भने विभागले लक्ष्यभन्दा बढी नै काम गरेको देखिन्छ । २० हजार मिटरको लक्ष्यमा २० हजार ७ सय ३३ मिटर क्र्यास ब्यारियर जडान भइसकेको छ। तथापि पोटहोल मर्मततर्फ ५ हजार ४ सय ५८ किलोमिटरको विशाल लक्ष्यमा १ हजार ५ सय ३४ किलोमिटर मात्र काम सम्पन्न हुन सकेको छ, जुन लक्ष्यको करिब २८ प्रतिशत मात्र हो।
भौतिक प्रगति लक्ष्यभन्दा कम देखिनुका पछाडि प्राविधिक र प्रशासनिक दुवै कारण रहेका छन्। सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काका अनुसार सडक निर्माण प्रक्रियामा कालोपत्रे हुनुअघि नाली निर्माण, सब–बेस र बेस कोर्स तयारीजस्ता धेरै पूर्वआधार कार्य पूरा गर्नुपर्छ। तर, ती कार्य भौतिक प्रगतिमा गणना नगरिने भएकाले प्रगति कम देखिएको हो।
उनले अहिले धेरै सडकको बेस कोर्समा काम भइसकेको र कालोपत्रेको काम अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदै आर्थिक वर्षको अन्त्यसम्म लक्ष्यअनुसार प्रगति हासिल हुने विश्वास व्यक्त गरे। यसका अलावा पेट्रोलियम अभावका कारण पनि निर्माण क्षेत्रमा केही असर परेको उनको भनाइ छ।
पूर्वाधारविज्ञ अर्जुनजंग थापाका अनुसार अन्तरिम सरकारले आगामी निर्वाचन तयारीलाई प्राथमिकता दिँदै सडक निर्माणतर्फ छुट्याइएका अर्बौं रूपैयाँको बजेट रोक्का राखेकाले पूर्वाधार विकासमा अपेक्षित गति आउन सकेन।
नयाँ सरकार गठनपछि पुराना निर्माणाधीन सडकलाई प्राथमिकता दिनुको सट्टा नयाँ सडकमा ध्यान केन्द्रित गरिएकाले पनि चालू परियोजना थप ढिला भएको उनले बताए। थापाका अनुसार रोक्का राखिएका बजेट एकैपटक फुकुवा गरे पनि प्रशासनिक, खरिद तथा परिचालन प्रक्रियाका कारण पूर्वाधार निर्माणले तत्कालै गति लिन सक्दैन।
विभागले भने अवशिष्ट लक्ष्य चालू आर्थिक वर्षभित्रै पूरा गर्ने प्रतिबद्धतासहित काम अगाडि बढाएको जनाएको छ।