गण्डकी। गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ भएको छ। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ७३ हजार ३४९ हेक्टरमा रोपाइँ भइसकेको छ।
यस वर्ष ९३ हजार ६०६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ शशी अधिकारीले बताए। प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी करिब एक लाख हेक्टरमा धानखेती हुने गरेको उनले जानकारी दिए।
उनका अनुसार नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ।
पछिल्लो समय प्रदेशमा रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गएको पाइएको कृषि अर्थ विज्ञ अधिकारीले बताए। “चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो। गत आवमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ भएकामा यस वर्ष ९३ हजार ६०६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ,” उनले भने।
प्रतिकूल मौसम, मल अभाव, कमसल बीउविजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने वरिष्ठ कृषि अर्थ विज्ञ अधिकारीको भनाइ छ। गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ।
गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानखेतीको पकेट क्षेत्र हुन्।
यस्तै पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत क्षेत्रलाई धानका लागि पकेट क्षेत्र तोकिएको प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ।