काठमाडौं। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ विद्युतीय एसयूभी ई.मास ५ सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, उन्नत प्रविधि र प्रतिस्पर्धी मूल्यका साथ आएको यो विद्युतीय एसयूभी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ।
प्रोटोन ई.मास ५ को प्राइम भेरियन्टमा ३०.१२ किलोवाट/घण्टा क्षमताको ब्याट्री प्याक जडान गरिएको छ। जसले डब्लुएलटीपी मापदण्डअनुसार २२५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। त्यसैगरी प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट/घण्टा क्षमताको ब्याट्री रहेको छ, जसबाट ३२५ किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
दुवै भेरियन्टमा रियर–ह्विल ड्राइभ प्रणाली प्रयोग गरिएको छ। साथै १४.६ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, ४जी तथा वाइ-फाइ कनेक्टिभिटी र डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छन्। जसले आधुनिक तथा स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

सुरक्षाका दृष्टिले पनि ई.मास ५ आकर्षक रहेको कम्पनीले जनाएको छ। यसमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक-फोर्स डिस्ट्रीब्युसन, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल होल्ड असिस्ट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा तथा रियर पार्किङ सेन्सर जस्ता अत्यावश्यक सुरक्षा सुविधाहरू समावेश छन्।
यसैगरी प्रिमियम भेरियन्टमा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमअन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङलगायतका अत्याधुनिक सक्रिय सुरक्षा प्रविधि पनि उपलब्ध गराइएको छ।

मूल्यतर्फ, कम्पनीले प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। तर पहिलो १०० ग्राहकका लागि विशेष अफर स्वरूप २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने जनाएको छ। त्यसैगरी प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो १०० ग्राहकले यसलाई ३४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।
प्रतिस्पर्धी मूल्य, आधुनिक प्रविधि, पर्याप्त रेन्ज र उन्नत सुरक्षा सुविधाका कारण प्रोटोन ई.मास ५ नेपाली विद्युतीय सवारी बजारमा किफायती र प्रविधिमैत्री एसयूभीको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।