काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिका अधिकांश समिति सभापति उम्मेदवार टुंगो लगाएको छ।
आज सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको हो।
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार हुनेछ भने आजै मनोनयन गर्ने कार्यतालिका संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ।
रास्वपाले कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बाँस्कोटालाई अगाडि सारेको छ भने पूर्वाधार विकास समितिमा पूर्वाधार समितिमा आशीष गजुरेल सभापितका उम्मेदवार बनेका छन्। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दलले पाउनेछ।
यसैगरी रास्वपाले महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, संसदीय सुनुवाइमा वोधनारायण श्रेष्ठ, राज्यका निर्देशक सिद्धान्त, नीति र गणेश कार्की, अर्थमा कृष्णहरि बुढाथोकीलाई सभापतिका रुपमा अगाडि सारेको छ।
