काठमाडौं। उद्योग विभागको पछिल्लो तथ्यांकले मुलुकभित्र वैदेशिक लगानी प्रतिबद्धता उल्लेखनीय घटेकाे देखाएको छ। विभागले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनामा मात्रै ४१ अर्ब रुपैयाँ बढी बराबरको विदेशी लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको हो।
तथ्यांकअनुसार चालू वर्षको पहिलो महिना अर्थात् साउन एकै महिनामा २४ अर्ब बढीको प्रतिबद्धता स्वीकृत भएको थियो। भदौमा करिब ९ अर्बको प्रतिबद्धता स्वीकृत भएको थियो।
त्यसपछिका महिनामा भने लगानी प्रतिबद्धताको ग्राफ हरेक महिना ओरालो लाग्दै फागुनसम्म आइपुग्दा ३८ करोड रुपैयाँमा सीमित भएको छ। पछिल्ला दुई महिनामा डेढ अर्ब रुपैयाँको मात्र लगानी स्वीकृत भएकाले वैदेशिक लगानी प्रतिबद्धता क्रमशः घट्दो देखिएको हो।
साउनदेखि चैतसम्म ६१५ परियोजनाका लागि ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ। यसबाट २२ हजार ३१६ जनाले रोजगारी पाउनेछन्। विभागका अनुसार चैतमा मात्रै ६१ वटा परियोजनाका लागि १ अर्ब १२ करोड ९२ लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।
क्षेत्रगत आधारमा कृषमा सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। चैतसम्म यस क्षेत्रमा १६ परियोजनामार्फत २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको विभागले बताएको छ।
विभागका अनुसार पर्यटन उद्योग क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख, सेवामूलक क्षेत्रमा ४७ परियोजनामार्फत ३ अर्ब ८९ करोड ६४ लाख, उत्पादनमूलक (औद्योगिक) क्षेत्रमा ३८ परियोजनामार्फत २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।
सूचना तथा प्रविधि (आईटी) क्षेत्रमा ३४६ परियोजनाका लागि १ अर्ब ४५ करोड ७२ लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। त्यस्तै, ऊर्जा क्षेत्रमा दुई परियोजनामार्फत २३ करोड ४२ लाख ५० हजार र खनिज क्षेत्रमा दुई परियोजनामार्फत ११ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।