रामपुर । गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।
पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल निर्माण बन्दाबन्दीले केही समय स्थगन भएको थियो । पुलमा काम गर्ने नेपालगञ्ज र बर्दियाका मजदूरलाई घर पठाएर निर्माणको काम केही समय रोकिएको थियो ।
कोरोना भाइरसका कारण भारत तथा विभिन्न मुलुक, स्थानबाट गाउँ फर्केका युवाले नदीमा पुल निर्माणलाई निरन्तरता दिएर आर्थिक उपार्जन गर्न मौका पाएका छन् ।
अहिले तनहुँको भागमा पिल्लर हाल्ने काम भइरहेको छ । यसमा यहाँका ५५ युवालाई परिचालन गरिएको छ । बन्दाबन्दीपछि गाउँ आएका हरिविक्रम दरै पुल निर्माणमा सहभागी हुने अवसर पाउँदा खुशी भएको बताउँछन् ।
हाल यहाँ दैनिक १६ घण्टा काम गरिएको छ । निर्माणमा संलग्न युवालाई दैनिक दुई कार्यावधि बनाई आठआठ घण्टामा विभाजन गरेर एक कार्यावधिमा रू. आठ सय ज्याला दिने गरी काममा लगाइएको पुल निर्माण समितिका सचिव दानबहादुर मल्लले जानकारी दिए । हालसम्म पुल निर्माणको काम १८ प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर टेकनाथ शर्माको भनाइ छ ।
बन्दाबन्दी लम्बिँदै गएपछि गृह मन्त्रालयबाट पुनः निर्माण सामग्री ढुवानीका लागि सवारी अनुमतिपत्र बनाएर स्थानीय युवा परिचालन गरी पुल निर्माणको काम धमाधम गरिएको उनी बताउँछन् ।
नेपाल सरकारको रू. २५ करोडको लागतमा डेढ वर्ष अघिदेखि पुल निर्माण शुुरु गरिएको हो । दुई सय १७ मिटर लम्बाइ र ११ मिटरको चौडाइ रहेको पुल निर्माण बिल्डर्स शर्मा युनाइटेड रमन जेभी कन्ट्रक्सन प्रालिमार्फत तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । रासस