काठमाडौं। नेपालको पाइप तथा फिटिंग्स उद्योगमा स्थापित ब्रान्ड ‘हिलटेक’ उत्पादक कम्पनी वित्तीय दबाबमा परेको छ। हिलटेक प्लास्टिक एन्ड पाइप इन्ड्रस्ट्रिजको वार्षिक आम्दानीको तुलनामा बैंकबाट लिएको ऋणको भार बढी भएपछि यसको पुँजीगत संरचना कमजोर बन्दै वित्तीय दबाबमा परेको हो।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको रिपोर्टअनुसार कम्पनीले आर्थिक वर्ष २०२५ मा कुल ४२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो भने आव २०२४ मा ३५ करोड, आव २०२३ मा ४४ करोड र आव २०२२ मा ३३ करोड रुपैयाँ वार्षिक व्यापार गरेको थियो। तर, कम्पनीले ७९ करोड रुपैयाँ बराबरको बैंक ऋण सुविधा सीमा राखेर रेटिङ गराएको थियो।
यसलाई घटाएर इन्फामेरिक्सले ५९ करोड २३ लाख रुपैयाँ कायम गरेको छ। ४३ करोड २३ लाख रुपैयाँ दीर्घकालीन कर्जामा ‘डबल बी’ र १६ करोड रुपैयाँको अल्पकालिन कर्जामा ‘एफोर’ रेटिङ पुनः पुष्टि गरेको छ।
यसरी हेर्दा कम्पनीको वार्षिक आम्दानीभन्दा बैंक ऋणको सीमा करिब १७ करोड रुपैयाँले बढी देखिन्छ। विशेषगरी नयाँ ‘पिभीसीओ’ पाइप प्लान्ट स्थापनाका लागि ठूलो मात्रामा थप ऋण लिइएका कारण कम्पनीको ऋण र स्वपुँजीको अनुपात असन्तुलित बनेको रिपोर्टमा उल्लेख छ। सन् २०२४ मा १.६४ गुणा रहेको ऋण र पुँजी अनुपात २०२५ को मध्य जुलाईसम्म आइपुग्दा चुलिएर ३.१३ गुणा पुगेको छ। यसको अर्थ कम्पनीमा सेयरधनीको १ रुपैयाँ लगानी हुँदा बैंकको ऋण ३ रुपैयाँभन्दा बढी छ।
व्यापारको तुलनामा ऋणको भार बढी हुँदा यसको प्रत्यक्ष असर कम्पनीको खुद नाफामा देखिएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढे पनि खुद नाफामा भने झन्डै ९६ प्रतिशतको घटेको छ। २०२४ मा २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको हिलटेकले २०२५ मा मात्र १० लाख रुपैयाँ नाफा कमाउन सकेको छ।
सञ्चालन नाफा १३ करोड २० लाख रुपैयाँ भए तापनि बैंकको चर्को ब्याज र नयाँ प्लान्टको ह्रासकट्टी खर्चले गर्दा खुद नाफा शून्य जस्तै बनेको हो। आम्दानीको ठूलो हिस्सा बैंकको ब्याज र किस्ता तिर्नमै खर्च हुने भएपछि कम्पनीको आन्तरिक पुँजी निर्माण प्रक्रिया अवरुद्ध भएको रिपोर्टले देखाउँछ।
कम्पनीको कार्यशील पुँजी व्यवस्थापनमा पनि समस्या देखिएको छ। हिलटेकको ‘अपरेटिङ साइकल’ २९९ दिनको रहेको छ, जसले गर्दा व्यवसाय सञ्चालन गर्न कम्पनी बैंकको ऋणमा अत्यधिक निर्भर रहनुपरेको छ। कच्चा पदार्थको मौज्दात २१० दिनसम्म राख्नुपर्ने र बजारमा पठाएको सामानको पैसा उठ्न औसत १२४ दिन लाग्ने गरेका कारण कम्पनीले स्वीकृत ऋण सीमाको ८० प्रतिशतभन्दा बढी हिस्सा सधैं उपयोग गरिरहनुपर्ने बाध्यता छ। हाल कम्पनीले ४३ करोड २३ लाखको दीर्घकालीन ऋण र १६ करोडको अल्पकालीन ऋण सीमा उपयोग गरिरहेको छ।
सन् २००९ मा काठमाण्डूको बालाजुमा स्थापित यो कम्पनीमा जितेन्द्र वैद्यको ४२.४४ प्रतिशत, कमल जैनको २५.८८ प्रतिशत र सायर जैनको ३१.६८ प्रतिशत सेयर स्वामित्व छ। अनुभवी व्यवसायीको नेतृत्व र ७७ वटै जिल्लामा फैलिएको वितरण सञ्जाल हिलटेकका सबल पक्ष हुन्। नेपालका ठूला खानेपानी आयोजनामा पाइपको माग बढ्दै जानुले आगामी दिनमा व्यापार बढ्ने संकेत गरे पनि, उच्च ऋणको भार र नाफामा देखिएको संकुचनले कम्पनीलाई जोखिमपूर्ण मोडमा पुर्याएको छ।
कच्चा पदार्थको ८६ प्रतिशत हिस्सा आयातमा निर्भर रहनु र डलरको भाउमा हुने फेरबदलले यो जोखिमलाई थप बढावा दिएको छ। आगामी दिनमा ऋणको भार घटाउँदै व्यापार र नाफाको अनुपात मिलाउनु नै हिलटेकको मुख्य चुनौती हुने रेटिङ रिपोर्टले औंल्याएको छ।