काठमाडौं। भारतको तेस्रो ठूलो निजी क्षेत्रको बैंक एक्सिस बैंकको नाफामा सामान्य गिरावट आएको छ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ट्रेजरी सञ्चालनबाट हुने आम्दानी घट्दा र प्रोभिजनिङ रकम बढ्दा नाफा प्रभावित भएको हो।
रोयटर्सका अनुसार, बैंकको सञ्चालक समितिले नियामक निकायको स्वीकृतिमा इक्विटी सेयर वा अन्य समान उपकरण जारी गरेर २०० अर्ब भारु (करिब २.१२ अर्ब डलर) सम्म थप पुँजी जुटाउने प्रस्तावलाई पनि स्वीकृत गरेको छ।
बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार, जनवरी–मार्च त्रैमासमा बैंकको खुद नाफा ७०.७१ अर्ब भारु रहेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ०.७ प्रतिशतले कम हो। गत वर्षको उक्त अवधिमा बैंकले ७१.१८ अर्ब भारु खुद नाफा कमाएको थियो।
बजार विश्लेषकहरूले यस त्रैमासमा बैंकले ७३.१६ अर्ब भारु नाफा आर्जन गर्ने प्रक्षेपण गरेका थिए। समीक्षा अवधिमा ऋणपत्रको प्रतिफल (बन्ड यिल्ड) बढेका कारण ट्रेजरी सञ्चालनको करअघिको नाफा झन्डै ७७ प्रतिशतले घटेर ३.०३ अर्ब भारुमा खुम्चिएको एजेनसीले उल्लेख गरेको छ। साथै, भारतीय रिजर्भ बैंकले विदेशी मुद्रा मध्यस्थतामा लगाएको अंकुशले पनि बैंकको ट्रेडिङ आम्दानीमा असर पारेको देखिन्छ।
बैंकको प्रोभिजन र आकस्मिक खर्च गत वर्षको तुलनामा दोब्बरभन्दा बढी ३५.२२ अर्ब भारु पुगेको छ। यद्यपि, एक्सिस बैंकले यो खर्च कुनै खराब सम्पत्तिका कारण नभई बैंकको स्वैच्छिक अभ्यासका कारण बढेको स्पष्ट पारेको छ। कर्जा प्रवाह क्षेत्रमा भने बैंकले राम्रो प्रगति गरेको छ।
मार्च अन्त्यसम्म बैंकको ऋण प्रवाह १९ प्रतिशतले बढेको छ भने निक्षेप संकलनमा १४ प्रतिशतको वृद्धि देखिएको छ। उपभोग करमा भएको कटौती र घट्दो मुद्रास्फीतिका कारण तेस्रो त्रैमासदेखि फर्किएको कर्जा वृद्धिको लय यो त्रैमासमा पनि कायमै रहेको बैंकले जनाएको छ।
विशेषगरी रिटेल र सूक्ष्म, साना तथा मझौला उद्योग (ःक्ःभ्) क्षेत्रबाट आएको बलियो मागले बैंकको ऋण विस्तारमा सहयोग पुगेको छ। यसैगरी, बैंकको खुद ब्याज आम्दानी अर्थात् ऋणमा आर्जित ब्याज र निक्षेपमा भुक्तानी गरिएको ब्याजअन्तर ५ प्रतिशतले बढेर १४४.५७ अर्ब भारु पुगेको छ। केही दिनअघि मात्रै यसका प्रतिस्पर्धी बैंक एचडीएफसी र आईसीआईसीआई बैंकले बलियो कर्जा वृद्धिका कारण नाफामा उल्लेख्य सुधार गरेका प्रतिवेदन सार्वजनिक गरेका थिए।
वित्तीय सूचकमा बैंकको खराब कर्जा (ग्रस एनपिएल) अनुपातमा भने सुधार देखिएको छ। डिसेम्बर त्रैमासमा १.४० प्रतिशत रहेको खराब कर्जा अनुपात मार्चको अन्त्यसम्म आइपुग्दा घटेर १.२३ प्रतिशतमा सीमित भएको छ।
यसअघि भारतका अन्य ठूला प्रतिस्पर्धी बैंक एचडीएफसी र आईसीआईसीआई बैंकले भने विश्लेषकको अनुमानभन्दा राम्रो नाफा सार्वजनिक गरिसकेका छन्। बैंकले जुटाउन लागेको नयाँ पुँजीले आगामी दिनमा आफ्नो व्यवसाय विस्तारलाई थप मजबुत बनाउने अपेक्षा लिएको छ।-एजेन्सी