काठमाडौं। अस्तित्व नेपालले एक्सनएडको सहयोगमा नेपालमा एसिड तथा जलन हिंसाविरुद्ध राष्ट्रिय स्तरको नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार आयोजित कार्यक्रममा एसिड बिक्रीसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र जलनसम्बन्धी स्वास्थ्य सेवा सुदृढ गर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा सांसद, वरिष्ठ अधिवक्ता, एसिड तथा जलन हिंसाका पीडित, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीले पीडितहरूले न्याय, स्वास्थ्य सेवा तथा सामाजिक पुनःएकीकरणका क्षेत्रमा भोगिरहेका कठिनाइबारे गम्भीर छलफल गरेका थिए।
कार्यक्रमको विशेष पक्ष पीडित–केन्द्रित सहभागिता रहेको आयोजकले जनाएको छ। पीडितहरूले आफ्ना अनुभव सार्वजनिक गर्दै कानुनी व्यवस्था भए पनि कार्यान्वयन कमजोर रहेको र समयमै न्याय तथा उपचार पाउन अझै कठिनाइ रहेको बताएका थिए।
छलफलमा देशभर सहज, सुलभ र विशेषज्ञता सहितको जलन उपचार सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। साथै एसिड बिक्रीमा कडा नियमन, सेवा प्रवाहमा जवाफदेहिता र पीडितमैत्री नीतिको माग गरिएको थियो।
कार्यक्रममा सहभागी सांसद तथा कानुन व्यवसायीहरूले आगामी कानुनी तथा नीतिगत बहसमा यी विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
अस्तित्व नेपालले पीडितको सम्मान, न्याय र सहयोग सुनिश्चित गर्न सरकार, नीति निर्माता तथा समुदायसँग सहकार्य जारी राख्ने जनाएको छ।