काठमाडौं। भन्सार विभागले मुस्ताङस्थित कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारीसाधन (ईभी) नियमसम्मत र रसुवागढी भन्सारबाट आयातीतमा कैफियत भेटिएको जनाएको छ।
भन्सार विभागबाट शुक्रबार जारी विज्ञप्तिमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा ईभी नियमसम्मत भित्रिएको प्रतिवेदन दिएको छ। ती सवारीसाधन गत जेठ १४ मा नेपाल प्रवेश गरेका थिए।
अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती सवारीसाधन जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको विभागको भनाइ छ।
सोही मितिसम्म भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए।
अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको थियो।
रसुवा भन्सार कार्यालयका लागि जेठ १७ गते भन्सार विभागका निर्देशकको नेतृत्वमा खटाइएको टोली र मुस्ताङ भन्सार कार्यालयका निम्तिन जेठ २१ गते भन्सार विभागका निर्देशकको नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका अधिकृत प्रतिनिधिसहितको अनुगमन टोलीले विस्तृत अध्ययन गरी भन्सार विभागसमक्ष प्रतिवेदन पेस गरेको थियो।
मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीको प्रतिवेदनअनुसार उक्त कार्यालयबाट जेठ १२ र १३ गते कुल ६४९ वटा विद्युतीय सवारी साधन घोषणा भई ९ वटा प्रज्ञापनपत्रमार्फत जाँचपास प्रक्रिया अघि बढेको पाइएको छ।
उक्त टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विधेषण गर्दा उल्लेखित ६४९ वटै विद्युतीय सवारी साधन जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्म भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको छ।
मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीको प्रतिवेदन अनुसार उक्त कार्यालयबाट मिति २०६३ जेठ १२ र १३ गते कुल ६४९ वटा विद्युतीय सवारी साधन घोषणा भई ९ वटा प्रज्ञापनपत्र मार्फत जाँचपास प्रक्रिया अघि बढेको पाइएको छ।
रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारी साधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीको प्रतिवेदनले औंल्याएको छ। अनुगमन टोलीले प्रज्ञापनपत्र कार्यालयको अभिलेख लगायतको विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारी साधन भन्सारमा भौतिक रूपमा आई नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको छ।
यसरी कानुनी प्रक्रिया पूरा नगरेको देखिएकोले अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका यस कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाइएको भन्सार विभागले जनाएको छ।
साथै सो कार्यमा संलग्न विद्युतीय सवारीसाधन पैठारीकर्ता लक्ष्मी ईमोबिलिटी, साइमेक्स इंक, सीजी मोटर्स, पूजा इन्टरनेसनल, पूजा कन्स्ट्रक्सन नेपाल तथा एजेन्ट नम्बर २४८, एजेन्ट नम्बर ८३३, एजेन्ट नम्बर ४७८ लगायत र भन्सार जाँचपास प्रतिनिधिलाई प्रचलित भन्सार कानुनबमोजिम कारवाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको विभागले जनाएको छ।
