काठमाडौं। नेपाली बजारमा पछिल्लो समय विद्युतीय चारपाँग्रे सवारी साधन (ईभी) सँगै दुईपाँग्रे ईभीको माग पनि तीव्र रूपमा बढ्न थालेको छ। केही समयअघिसम्म सुस्त गतिमा रहेको विद्युतीय स्कुटर बजारले अहिले भने नयाँ रफ्तार लिएको छ।
विशेष गरी मध्यपूर्वमा बढ्दै गएको तनाव र भूराजनीतिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढेपछि उपभोक्ताहरू तीव्र रूपमा इलेक्ट्रीक स्कुटरतर्फ आकर्षित हुन थालेका हुन्। पेट्रोलको बढ्दो मूल्य र कम सञ्चालन खर्चका कारण ईलेक्ट्रिक स्कुटर रोज्ने क्रम बढेसँगै अहिले बजारमा स्थापित ब्राण्डका मोडेलहरू पाउन उपभोक्ताले महिना दिनसम्म पर्खनुपर्ने अवस्था सिर्जना भएको छ।
हाल नेपाली बजारमा तीन दर्जनभन्दा बढी ब्राण्डका इलेक्ट्रीक स्कुटरहरू उपलब्ध छन्। संख्यात्मक हिसाबले हेर्ने हो भने चिनियाँ उत्पादनहरूको बाहुल्यता बढी देखिन्छ। यद्यपि, स्थापित ब्राण्ड भ्यालु, पार्टपूर्जाको सहज उपलब्धता, सर्भिस नेटवर्क र लामो रेन्जका कारण बिक्रीको आधारमा भारतीय ब्राण्डहरू पनि बलियो प्रतिस्पर्धामा छन्।
चिनियाँ स्कुटरहरूले पनि आफ्नो आधुनिक डिजाइन, नवीनतम एआई फिचर्स, उच्च प्रविधि र प्रतिस्पर्धी मूल्यका कारण नेपाली युवा पुस्ता र सहरी उपभोक्ताको मन जित्न सफल भइरहेका छन्। बजारमा भित्रिएका दर्जनौँ चिनियाँ ब्राण्डमध्ये करिब आधा दर्जन ब्राण्डले नेपाली सडकमा बलियो उपस्थिति जनाएका छन्।
अहिले नेपाली बजारमा सबैभन्दा धेरै आयात तथा बिक्री हुने ब्रान्डमा याडिया, एथर, टिभिएस, बजाज चेतक, टेलजी, एनआइयुलगायतका ब्रान्ड छन्।
एथर
पछिल्लो समय एथरका इलेक्ट्रीक स्कुटर नेपाली उपभोक्ताको पहिलो रोजाइ बनेको देखिन्छ। प्रिमियम इलेक्ट्रीक स्कुटर खोज्नेका लागि एथर आकर्षक विकल्प हो। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जिले हालै सार्वजनिक गरेको पारिवारिक स्कुटर एथर रिज्टा अहिले नेपाली बजारमा निकै लोकप्रिय बनेको छ।
भारतीय ब्रान्ड एथरको नयाँ पारिवारिक स्कुटर रिज्टा अहिले नेपाली बजारमा सर्वाधिक माग भएको मोडलमध्ये एक हो। केही दिनअघि कम्पनीले एथर ४५० र रिज्टा गरी २०० युनिट स्कुटर एकैदिन डेलिभरी गरेको थियो।
एथरको ठूलो सिट, प्रशस्त स्टोरेज, आरामदायी राइडिङ अनुभव तथा ११० देखि १५० किलोमिटरसम्म रेन्जका कारण यो दैनिक प्रयोगका लागि उपयुक्त विकल्प बनेको छ। परिवार लक्षित डिजाइन र एथरको प्रविधिले यसको लोकप्रियता बढाएको छ।
याडिया
याडिया नेपाली बजारमा दुईपांग्रे ईभीतर्फ लामो समयदेखि बलियो उपस्थिति जनाउँदै आएको चिनियाँ ब्रान्ड हो। नेपालमा धेरै आयात हुने र बिक्री हुने इलेक्ट्रिक स्कुटरमा याडिया अग्रपंक्तिमा आउँछ। नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल हो। कम्पनीले याडियाका भेलक्स, ओविन, ई ८ एस प्रो, एम ६ लगायतका स्कुटर मोडल र केनिस ईभी मोटरसाइकल बिक्री गर्दै आएको छ। याडिया दुईपाँग्रे ईभीमा ९ वर्षदेखि विश्वकै पहिलो स्थानमा पर्दै आएको ब्राण्ड हो। नेपालमा ग्राहकको आवश्यकता अनुसारको सस्तो देखि महंगो मूल्यमा स्कुटर उपलब्ध भएकाले यसले राम्रो पकड बनाइरहेको छ। यसको आकर्षक डिजाइन, आधुनिक फिचर, राम्रो रेन्ज र प्रतिस्पर्धी मूल्यका कारण युवा पुस्तामाझ यसको माग बढिरहेको छ। मूल्यअनुसार उपलब्ध हुने सुविधाले यसलाई लोकप्रिय बनाएको हो।
टिभीएस
टिभिएस नेपालमा लामो समयदेखि स्थापित लिगेसी बोकेको ब्रान्डमा पर्छ। नेपाली बजारका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स हो। ईभीमा स्थापित पुरानो ब्रान्ड रोज्नेहरुका लागि टिभीएस ‘आईक्युब’ पहिलो रोजाइ बन्न सफल भएको छ। सिट स्पेस आरामदायक भएकाले दैनिक अफिस आवतजावतदेखि पारिवारिक प्रयोगसम्म उपयुक्त हुन्छ। कम्पनीले आइक्युबको सुरूआती मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ।
भारतीय बजारमा सर्वाधिक रुचाइएको इलेक्ट्रीक स्कुटरमध्ये एक आइक्युब नेपालमा पनि लोकप्रिय बन्दै गएको छ। यसको डिजाइन, विश्वासिलो ब्राण्ड र प्रयोगमैत्री फिचरका कारण यो धेरैको रोजाइमा परेको छ। टीभीएस आइक्युब २.२ र ३.५ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ। ४.४ किलोवाटको मोटर रहेको आइक्युबले एकपटक फुलचार्जमा १०० किलोमिटरभन्दा बढीको रेन्ज दिन्छ। टप भेरियन्टमा ठूलो ब्याट्री प्याक, टचस्क्रीन डिस्प्ले, नेभिगेसन, स्मार्टफोन कनेक्टिभिटी र रिभर्स असिस्ट जस्ता फिचर दिइएका छन्।
बजाज चेतक
नेपाली बजारमा बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी हो। नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै यो नेपालको शीर्ष ब्रान्डहरूभित्र पर्न सफल भएको छ। क्लासिक नामलाई आधुनिक विद्युतीय स्वरूपमा ल्याएको बजाज चेतक प्रिमियम डिजाइन र बलियो निर्माणका कारण चर्चामा छ। मेटल बडी, उत्कृष्ट फिट एन्ड फिनिस तथा विश्वसनीय ब्राण्डको छविले चेतकलाई शहरी प्रयोगकर्तामाझ लोकप्रिय बनाएको छ।
नेपालमा चेतकको ३५०१ एउटा मोडलमात्रै उपलब्ध छ। कम्पनीले चेतकको मूल्य ३ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। यसमा ३.५ किलोवाट आवरको ब्याट्री र ९५० वाटको मोटर दिइएको छ। यसले एकपटकको फुलचार्जमा १५० कीमीसम्मको रेन्ज दिन्छ। चेतकमा रिजनरेटिभ ब्रेकिङ, डिजिटल डिस्प्ले, स्मार्ट कनेक्टिभिटी, राम्रो बुट स्पेस लगायतका फिचर छन्।
टेलजी
नेपालमा टेलजी अहिले भ्यालु ओरियन्टेड सेग्मेन्टमा तीव्र गतिमा बढ्दो ब्राण्ड हो। टेल्जी स्कुटरका लागि नेपालमा आधिकारिक बिक्रेता योममाई मोटर्स प्रालिले हाल नेपालमा टेलजीका एस टू, टाइगर, ट्यांक जेडएस र ट्यांक केएस जस्ता मोडल बिक्र गर्दै आएको छ। टेलजी नेपालले यी स्कुटरहरूको सुरूआती मूल्य २ लाख ६२ हजार रुपैयाँदेखि छ। ३ किलोवाटसम्मको मोटर र ३.५ किलोवाट आवरसम्मको ब्याट्रीप्याक पाइने टेलजीका स्कुटरले १०० देखि १२० किलोमिटरसम्म रेन्ज दिन्छन्।