काठमाडौं। कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा अवधिमा १ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यद्यपि यो बैंकले गत आवको चैत मसान्तसम्म कमाएको १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफाको तुलनामा २४.४२ प्रतिशतले घटेको हो। चालू आवमा बैंकको ब्याज आम्दानीमा वृद्धि भए तापनि इम्पेयरमेन्ट चार्ज बढेका कारण नाफामा दबाब परेको हो।
गत आवको चैतसम्म ५ अर्ब ९९ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले त्यसको तुलनामा चालू आवको चैत मसान्तसम्म १०.६९ प्रतिशतको वृद्धि सहित ६ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।
बैंकले गत चैत मसान्तसम्म इम्पेयरमेन्ट चार्जबापत ९१ करोड ६८ लाख रुपैयाँ छुट्याएकामा चैतसम्म १ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ इन्पेयरमेन्ट चार्जबापत छुट्याएको छ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ५८ करोड ५३ लाख रुपैयाँबाट ७ प्रतिशतले वृद्धि भई ८ अर्ब ११ करोड ९० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँबाट १८.३९ प्रतिशतले घटेर २ अर्ब १२ करोड ९ लाख रुपैयाँमा झरेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँबाट घटेर १ अर्ब २५ करोड १४ लाख रुपैयाँमा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी १५.४० रुपैयाँबाट झरेर १०.७१ रुपैयाँमा झरेको छ भने खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ५.०६ प्रतिशत कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ २२८.७८ रुपैयाँ छ।
चुक्ता पुँजी १९ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा १७ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ सञ्चिति छ। बैंकले चैत मसान्तसम्म २ खर्ब २६ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ कर्जा परिचालन गरी ३ खर्ब ३० अर्ब ७२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।