काठमाडौं। वाणिज्य बैंकहरूले सेयरधनीलाई औसत १२.३० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ। चालू आर्थिक वर्षको चैत मसान्तमा वितरणयोग्य नाफा सकारात्मक रहेका वाणिज्य बैंकहरूले मुनाफाबाट न्यूनतम १.९३ प्रतिशतदेखि ३९.३४ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने वित्तीय विवरण प्रकाशित गरेका हुन्। उक्त अवधिमा ६ वटा वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफा ऋणात्मक छ।
चालू वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकहरूले प्रकाशित गरिसकेका छन्। उक्त अवधिमा १४ वटा वाणिज्य बैंकले ५१ करोडदेखि ४ अर्ब ४ करोड रुपैयाँसम्म वितरणयोग्य नाफा कमाएका छन्। यी बैंकहरूले उक्त अवधिमा आर्जित मुनाफाबाट औसतमा १०.५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।
व्यक्तिगत बैंकहरू मूल्यांकन गर्दा उक्त अवधिमा एभरेष्ट र नबिल बैंकले सबैभन्दा धेरै वितरणयोग्य नाफा कमाएर ३४.०९ प्रतिशत र २१.१६ लाभांश वितरण क्षमता राखेक छन्। उक्त अवधिमा एभरेष्ट बैंकले ४ अर्ब ८ करोड रुपैयाँ र नबिल बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको हो।
यस्तै, सिद्धार्थ बैंकले २ अर्ब ९९ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर २०.१६ प्रतिशत लाभांश क्षमता बनाएको छ। सानिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर १८.५७ प्रतिशत लाभांश क्षमता, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३५ करोड कमाउँदा १७.६९ प्रतिशत, नेपाल एसबिआईले १ अर्ब २ करोड कमाएर १०.७५ प्रतिशत र ग्लोबल आइएमईले ३ अर्ब वितरणयोग्य नाफा कमाएर १०.५ प्रतिशत लाभांश क्षमता राखेको छ।
बाँकी ७ वटा बैंककको लाभांश क्षमता १० प्रतिशतभन्दा कम छ। माछापुच्छ्रेले ७६ करोड वितरणयोग्य नाफा कमाएर ७.८१ प्रतिशत, कृषि विकासले १ अर्ब २५ करोड वितरणयोग्य नाफा कमाएर ७.७८ प्रतिशत, एनएमबीले ९२ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर ५.३४ प्रतिशत र प्राइम कमर्सियल बैंकले ७७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर ४.७६ प्रतिशत लाभांश क्षमता बनाएको छ।
साथै, राष्ट्रिय वाणिज्य बैंकले ३१ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर ३.८ प्रतिशत लाभांश क्षमता, नेपाल बैंकले ३२ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर २.९२ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५१ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएर १.९३ प्रतिशत लाभांश क्षमता राखेको छ।
उक्त अवधिमा कुमारी, हिमालयन, सिटिजन्स, एनआईसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको वितरणयोग्य नाफा नकारात्मक हुँदा सेयरधनीलाई लाभांश दिन क्षमता राख्न सक्दैनन्।
