काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुले खुद नाफा करिब ४ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। सञ्चालनमा रहेको ८ वटा विकास बैंकहरुले ३ अर्ब ९९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्।
जुन गत आवको तुलनामा १०.९९ प्रतिशत हो। गत आवको तेस्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुको खुद नाफा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ थियो।
साथै, सो अवधिमा ८ वटा राष्ट्रिय विकास बैंकहरुले ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेका छन्। जसबाट राष्ट्रिय स्तरका विकास बैंकहरुले लगानीकर्तालाई औसत ७.८८ प्रतिशत लाभांश वितरणको क्षमता राख्छन्।
हाल सञ्चालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, साइनरेसुङ्गा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंक हुन्। यी बैंकहरुको चालू आवको तेस्रो त्रैमासको औसत निस्किृय कर्जा ५.६६ प्रतिशत छ। गत वर्षको सोही अवधिमा ४.१२ प्रतिशत थियो।

साथै, उक्त अवधिमा यी विकास बैंकहरुको औसत प्राथमिक पुँजीकोष अनुपात १०.७६ प्रतिशत कायम छ। गत वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३१ प्रतिशत कायम थियो।
वाणिज्य बैंकलाई पछि पार्दै राष्ट्रिय स्तरका आधा बढी विकास बैंक
खुद नाफा, वितरणयोग्य नाफा, एनपिएल, लाभांश क्षमता र पुँजी प्रयप्ततामा राष्ट्रिय स्तरका विकास बैंकहरुले केही वाणिज्य बैंकहरुलाई समेत उछिनेका छन्। चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण हेर्दा यी विकास बैंकहरु एनआईसी एशिया, हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, प्राइम कर्मसियल बैंक र लक्ष्मी सनराइज बैंकलगायतका वाणिज्य बैंकहरुभन्दा खुद नाफा, वितरण योग्य नाफा, एनपिएल, लाभांश क्षमता र पुँजी प्रयप्ततामा सबल देखिएका छन्।
खुद नाफामा मुक्तिनाथको वर्चस्व
खुद नाफा आर्जनमा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले गत वर्षको चैतमा ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष ३० प्रतिशतले वृद्धि गरी ९४ करोड २६ लाख रुपैयाँ पु¥याएको छ।
दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले ७४ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ। शाइन रेसुङ्गा बैंकको नाफा गत वर्षकै हाराहारीमा ५१ करोड ४० लाख रुपैयाँ कमाएको छ। यता, लुम्बिनी विकास बैंकको खुद नाफामा भने ठूलो गिरावट आएको छ। गत वर्ष ३४ करोड २१ लाख नाफा कमाएको यस बैंकले यस वर्षको चैतसम्म ४ करोड ९७ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ।
लाभांश क्षमतामा कामना सेवा अगाडि
लगानीकर्ताका लागि महत्वपूर्ण मानिने लाभांश वितरण क्षमतामा कामना सेवा विकास बैंक सबैभन्दा अब्बल देखिएको छ। यो बैंकको लाभांश क्षमता १८.९८ प्रतिशत रहेको छ। यस्तै शाइन रेसुङ्गाको १०.५९ प्रतिशत, गरिमाको ८.२३ प्रतिशत र मुक्तिनाथको ७.०२ प्रतिशत लाभांश क्षमता छ।
यता ज्योति विकास बैंकको खुद नाफा बढे पनि वितरणयोग्य नाफा ५६ करोड ८७ लाख रुपैयाँ ऋणात्मक भएकाले यसको लाभांश क्षमता १७.२५ प्रतिशतले ऋणात्मक देखिएको छ। लुम्बिनी विकास बैंकको लाभांश क्षमता पनि शून्य बराबर (०.०२ प्रतिशत) मात्र छ।
सांग्रिला र लुम्बिनीको बढ्दो खराब कर्जा
विकास बैंकहरुको खराब कर्जा (एनपिएल) गत वर्षको तुलनामा यस वर्ष निकै बढेको देखिएको छ। सबैभन्दा धेरै खराब कर्जा सांग्रिला डेभलपमेन्ट बैंकको ७.८७ प्रतिशत पुगेको छ।
यस्तै, लुम्बिनीको ७.१८ प्रतिशत र महालक्ष्मीको ६.५९ प्रतिशत खराब कर्जा रहेको छ। सबैभन्दा कम खराब कर्जा कामना सेवाको ४.२७ प्रतिशत छ।
महालक्ष्मीको बलियो पूँजी पर्याप्तता
प्राथमिक पूँजीकोषको अवस्था हेर्दा महालक्ष्मी विकास बैंक सबैभन्दा सुरक्षित देखिएको छ। नेपाल राष्ट्र बैंकले यस्तो न्यूनतम अनुपात ८.५ निर्धारण गरेपनि महालक्ष्मी विकास बैंकको १३.६४ प्रतिशत कायम छ।
अर्कोतर्फ ज्योति विकास बैंकको प्राथमिक पूँजी कोष अनुपात ८.५३ प्रतिशत मात्र छ, जुन तोकिएको सीमाको तुलनामा दबाबपूर्ण देखिन्छ।