सोलुखुम्बु। सगरमाथा आरोहणका लागि मार्ग निर्माण गर्न खटिएका आइसफल डाक्टरहरू करिब तीन सातापछि पुनः सक्रिय भएका छन्। खुम्बु आइसफलमा झरेको ठूलो ढिस्कोका कारण अवरुद्ध भएको बाटो अन्ततः खुलेको हो।
वसन्तकालीन आरोहण सिजनका लागि डोरी र भर्याङ जडान गर्न खटिएको टोली अप्रिलको पहिलो सातामै आधार शिविर पुगेको थियो। तर, क्याम्प १ पुग्नुअघि नै खसेको सर्याकले मार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको थियो। उक्त ढिस्को हटाउन नसकिएपछि टोली प्राकृतिक रूपमा पग्लिने पर्खाइमा बसेको थियो।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार खुम्बु आइसफलमा देखिएको ‘डेडलक’ हटेसँगै टोली क्याम्प १ बाट क्याम्प २ तर्फ अघि बढेको छ। “प्राकृतिक रूपमा अवरोध हटेपछि मार्ग निर्माणको काम पुनः सुरु भएको छ, यो सकारात्मक खबर हो,” उनले भने।
सरकारले यसअघि सगरमाथा प्रदूषण नियन्त्रण समिति र नेपाल पर्वतारोहण संघ लाई संयुक्त रूपमा खटाएर मार्ग निर्माण कार्य तीव्र बनाउन अनुमति दिएको थियो। सो निर्णयअनुसार संयुक्त टोली परिचालन गरिएको थियो।
पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि ४२ समूहका ४२५ आरोहीले अनुमति लिएका छन्, जसमध्ये ९७ महिला रहेका छन्। हाल सयौँ विदेशी तथा नेपाली सहयोगीहरू आधार शिविरमा पुगिसकेका छन्।
सामान्यतया जेठको पहिलो सातादेखि दोस्रो सातासम्म सगरमाथा, ल्होत्से र नुप्त्से मा आरोहण गतिविधि हुने गर्दछ। मार्ग खुलिसँगै अब आरोहणको तयारीले तीव्रता पाउने अपेक्षा गरिएको छ।