काठमाडौं। नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले ७१औँ वार्षिकोत्सव बहिष्कार गर्दै मूल ढोकामा कालो ब्यानर प्रदर्शन गरेको भोलिपल्टै बैंक व्यवस्थापनले आठ जना निर्देशकको बढुवा गरेको छ।
कर्मचारी संघ(संगठनको तीव्र विरोध र दबाबका कारण बैंकले प्रशासन सेवातर्फका ८ जना उपनिर्देशकलाई निर्देशक (अधिकृत प्रथम) पदमा बढुवा गर्ने निर्णय मंगलबार सार्वजनिक गरेको हो।
राष्ट्र बैंक मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार, कार्यक्षमता मूल्याङ्कनका आधारमा सम्झना ढकाल, नविना ढकाल, संजीव कुमार झा, सुमन नेउपाने, पुष्पा अधिकारी, मोहन पुडासैनी, कमल प्रकाश कालाथोकी र शिखा अधिकारी (रेग्मी) निर्देशक पदमा बढुवा भएका छन्। बढुवाको योग्यताक्रममा अन्तिम नम्बरमा रहेका उम्मेदवारले १८९.७५ अङ्क प्राप्त गरेका छन्।
सोमबार आयोजित वार्षिकोत्सव समारोहमा कर्मचारीले गर्न सक्ने सम्भावित विरोध र कालो ब्यानर मिडियामा नआओस् भन्नका लागि गभर्नर डा. विश्व पौडेलले निजी क्षेत्रका सञ्चार माध्यमलाई प्रवेशमा पूर्ण बन्देज लगाएका थिए।
कर्मचारीको आक्रोश र समयमा बढुवा नहुँदाको ‘बिचल्ली’ सार्वजनिक हुने डरले सरकारी मिडियालाई मात्र बोलाइएको भए पनि कर्मचारीहरूले ‘उच्च व्यवस्थापनको गैरजिम्मेवार व्यवहार’ लेखिएको कालो ब्यानर झुण्ड्याएर कडा प्रतिवाद गरेका थिए।
गभर्नर पौडेल ११ दिनको अमेरिका भ्रमणबाट फर्केलगत्तै कर्मचारीले देखाएको यो ‘रियाक्सन’पछि मात्र वर्षौंदेखि रोकिएको बढुवा प्रक्रिया अघि बढेको हो। माघदेखि निर्वाचन आचार संहिता र पदाधिकारीको निरन्तर वैदेशिक भ्रमणका कारण कर्मचारीको वृत्तिविकास ठप्प भएको थियो।
चैत अन्तिममा नयाँ डेपुटी नियुक्त भए पनि गभर्नर पौडेल पुनः विदेश उडेपछि प्रशासन लथालिङ्ग बनेको आन्दोलनकारीहरूको आरोप थियो। आजको बढुवालाई कर्मचारी वृत्तमा आन्दोलन र कालो ब्यानर प्रदर्शनको प्रत्यक्ष प्रभावका रूपमा हेरिएको छ।
यद्यपि, सात दशक लामो इतिहास बोकेको केन्द्रीय बैंकले आफ्नो वार्षिक उत्सवमा मिडिया छनोट गरेर बोलाउनु र आलोचना लुकाउन खोज्नुलाई गभर्नरको ‘अनुदार’ चरित्रका रूपमा अर्थपूर्ण ठानिएको छ।
आजको यो निर्णयले कर्मचारीको आक्रोशलाई केही साम्य पारे पनि मिडिया निषेधको विषयले भने गभर्नर पौडेलको वास्तविक अनुहार उदाङ्गो पारेको कर्मचारीहरूको टिप्पणी छ।
