काठमाडौं। सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गर्दै २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको थियो। वार्षिक १० लाख विदेशी पर्यटक आइरहेको बेला सरकारले महंत्वकाक्षी योजना लिएर २० लाख ल्याउने घोषणाअनुसार सबै क्षेत्रले काम पनि गरिरहेको थियो।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैंद्यले भ्रमण वर्षको सचिवालय लिड गरिरहेका थिए। सरकारले नै तामझामका साथ भ्रमण वर्ष मनाउने तयारीपछि निजी क्षेत्र निकै उत्साहित बनेको थियो। अझ पर्यटनमा आबद्ध निजी क्षेत्रले २० लाख पर्यटकको परिकल्पना गर्दै नयाँ होटल बनाउनेदेखि भएका संरचनामा नयाँ लगानी विस्तारसमेत गर्न भ्याइनभ्याई गर्न थालिरहेको थिए।

धेरै होटल तथा रिसोर्ट २०२० को सुरुआतमै उद्घाटन गर्ने गरी तयारी तीव्र पारिरहेका थिए। त्यसैको दौडमा थिए–उद्योगी शशिकान्त अग्रवाल पनि। काठमाडौंको नक्सालमा पाँचतारे होटल म्यारियट निर्माण गरिरहेका अग्रवालले भ्रमण वर्षको पूर्वसन्ध्या २०१९ मा होटल उद्घाटन गर्न सफल भए।
विडम्बना, जब होटल उद्घाटन भयो, त्यही बेलाबाट विश्वव्यापी कोभिड १९ महामारी फैलियो। विश्वका अधिकाशं मुलुकमा फैलिएको कोभिड १९ प्रभावले अन्तर्राष्ट्रिय उडान रोकियो। त्यसको प्रभाव नेपालमा पनि पर्यो। नेपालले पनि उडान पूर्ण रुपमा रोक्यो,लामो समयसम्म बन्दाबन्दी गर्यो। नागरिक घरमै थुनिएर बस्नुपर्ने स्थिति आयो।

तामझामसहित उद्घाटन गरेको भ्रमण वर्ष २०२० का सबै कार्यक्रमहरु रद्द भए। नेपाल आउन होटल बुक गरिसकेका सबै पर्यटक आफ्नै देशमा रोकिए। विदेशी पर्यटक नआएपछि नेपालका होटल बन्द भए। कोभिडका कारण सरकारबाटै सबै होटल व्यवसाय पूर्ण रुपमा बन्द गरिए। व्यवसायीले पनि होटलमा ग्राहकनै नआएपछि आफ्ना कर्मचारीलाई बिदा पठाएर बन्द गरे।
कोभिडमा पनि बन्द भएन म्यारियट
कोभिड १९ को महामारीमा सबै होटलहरु बन्द भएपनि काठमाडौं म्यारियट भने बन्द भएन। नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका उच्च अधिकारी, विभिन्न एयरलाइन्सका कर्मचारी र उद्योगी व्यवसायीहरुले स्वास्थ्यको उच्च ख्याल गर्दै पूर्ण रुपमा कोभिडबाट बच्ने उपाय पालना गर्दै होटल सञ्चालनमा रहिरह्यो। होटलभित्रका कर्मचारीलाई त्यही बसोबास व्यवस्थापन गर्दै समय समयमा पीसीआर परीक्षण गर्दै होटल सञ्चालन गरेपछि अधिकांशको रोजाइ म्यारियट पर्न थाल्यो।
म्यारियट सञ्चालनपछि विश्वभरबाट नेपाल आएका भीभीआईपीहरूको रोजाइ पनि त्यही पर्न सफल भएको छ। २०७६ कात्तिक २७ मा नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पनि सोही होटलमा बसेका थिए।

२०७६ असारमा भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा, २०७६ भदौमा नेपाल भ्रमणमा आएका चिनियाँ विदेशीमन्त्री वाङ, सगरमाथा आरोहणका लागि नेपाल आएकी कतारी राजपरिवार सदस्य शेखा आस्मा अल थानी पनि सोही होटलमा बसेका थिए। योसँगै धेरै भीभीआईपी र भीआईपीहरूको रोजाइमा म्यारियट परिरहेको छ। म्यारियटको सबैभन्दा महँगो र लक्जरी रुमको रुपमा ९०१ रहेको छ।
चेन होटलको लहर ल्याउने म्यारियट
सन् २००० मा अन्तर्राष्ट्रिय चेन होटल हायात रिजेन्सी नेपाल भित्रिएपछि डेढ दशकसम्म कुनै पनि विदेशी होटल व्यवस्थापकको रुपमा नेपाल छिरेनन्। १० वर्षे सशस्त्र द्वन्द्व र अस्थिर राजनीतिका कारण यस अवधिमा शेर्पा, ब्लुबर्ड, उडल्यान्ड, नारायणीजस्ता पुराना र स्थापित होटल बन्द भए। यसको असर होटल क्षेत्रमा पर्दा नयाँ लगानी रोकियोे।
२०१९ मा विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड ‘म्यारियट’ (काठमाडौं म्यारियट) नेपाल भित्रिएपछि चेन होटलको बहारै आएको छ। मक्र्योर, रोयल टुलिप, हिल्टन होटल, रमडा फेयरफिल्ड मेरियट, लेमन ट्री प्रिमियर, र्याडिसन, होलिडे इन होटल एन्ड रिसोर्ट, ह्यात प्यालेस, भिभान्ता, अलफ्ट, दुसित थानी रिसोर्ट, दुसित प्रिन्सेस, शिन्तामणि, क्राउन इम्पेरियल, होलिडे एक्सप्रेस, ताज सफारी, आईटीसी फरच्युन र होटल लड्र्स पछिल्लो समय नेपाल भित्रिएका चेन होटल हुन।
यस्तै, नेपालमा हालसम्मकै लक्जरी ब्रान्ड लक्जरी कलेक्सन होटल गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले २०२६ को नोभेम्बरबाट केशरमहलमा सञ्चालनमा ल्याउने गरी सम्झौता गरिसकेका छन्। चौधरी ग्रुपले लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपाल ल्याउन सम्झौता गरिसकेका छन्।
योसँगै अहिले उनै शशिकान्तले भक्तपुरको नयाँ ठिमीमा जेडब्लु म्यारियट ल्याउने गरी सम्झौता गरिसकेका छन्।

विदेशी चेन होटल प्रवेश रोकिइरहेका बेला म्यारियटको प्रवेशपछि नेपालमा धेरैको नजर परेको छ। सोही कारण अहिले प्रतिस्पर्धात्मक रुपमा एकपछि अर्को लक्जरी ब्रान्ड नेपाल आउने ढोका खोल्ने काठमाडौं म्यारियटले सोमबार सातौं वार्षिकोत्सव मनाएको छ। काठमाडौं म्यारियटलाई सुभकामना।