काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बहिरिने क्रममा यात्रुमाथि बाग्रेनिङलगायत भ्रमपूर्ण सूचना र कमिसनका कारण गन्तव्य परिवर्तन गराउने गतिविधि बढेको भन्दै होटल व्यवसायीले आपत्ति जनाएका छन्।
यस्ता गतिविधिले यात्रु र होटल व्यवसायी दुवै मारमा परेको व्यवसायीको बुझाइ रहेको छ। हवाई यात्रु यातायात सेवा समितिसँग आबद्ध केही सवारी चालकहरूले यात्रुलाई झुक्याउने, हैरानी दिने तथा गलत सूचना प्रवाह गर्ने गरेको पाइएको छ।
उनीहरूले यात्रुलाई आफ्नो रोजाइअनुसारको होटलमा जान नदिई आफू अनुकूल होटलतर्फ लैजाने प्रवृत्ति बढ्दो रहेको र यससम्बन्धी गुनासाहरू पछिल्लो समय सार्वजनिक हुन थालेका छन्। पहिले नै बुकिङ गरिसकेका पाहुनालाई समेत उक्त होटल राम्रो छैन भन्दै भ्रम सिर्जना गरी अन्यत्र डाइभर्ट गर्ने प्रवृत्ति बढ्दै गएको व्यवसायी बताउँछन्।
जिल्ला होटल व्यवसायी संघ काठमाडौका अध्यक्ष सुरेश बरालले विमानस्थलमै यात्रु तानातान गर्ने र झुक्याउने प्रवृत्ति नियन्त्रण नगरे नेपालको पर्यटन छविमा दीर्घकालीन नकारात्मक असर पर्ने बताएका छन्। अध्यक्ष बरालले तोकिएको भाडादरमा यात्रुहरू नलाने प्रतिव्यक्ति असुली , कोचाकोच यात्रु हाल्ने ,लामो समय सम्म यात्रु लाई होल्ड गराउने काम गलत रहेको स्पष्ट पारे।
साथै, यात्रुको गन्तव्य परिवर्तन गराउने र कमिसनको पछि लाग्ने प्रवृत्तिसमेत देखिएको उनको भनाइ छ। यसले यात्रुहरूलाई अनावश्यक आर्थिक भार पर्ने मात्र नभई समग्र पर्यटन क्षेत्रमै नकारात्मक असर पार्ने उनले बताएका छन्।
अध्यक्ष बरालका अनुसार विमानस्थल परिसर र आसपासका क्षेत्रमा कडाइका साथ अनुगमन बढाउने, अवैध टिकट काउन्टर तत्काल हटाउने, एकीकृत र पारदर्शी भाडा दर लागू गर्ने तथा यात्रुको स्वतन्त्र रोजाइ सुनिश्चित गर्नुपर्छ।
एयरपोर्टदेखि प्रमुख सहरका क्षेत्रसम्म सरकारले पर्यटकमैत्री बस सेवा सञ्चालन गर्न सकेमा ठगी र कमिसन नियन्त्रण हुनुका साथै ग्राहकको रोजाइअनुसार बसाइ र यात्रा तय गर्नुपर्ने उनको भनाइ छ।
पछिल्लो समय सरोकारवालाले पर्यटन नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार भएकाले यस्ता विकृति नियन्त्रण गर्न ढिलाइ गर्न नहुने बताएका छन्। राज्यले प्रभावकारी नियमन र स्पष्ट नीतिगत हस्तक्षेप नगरे पर्यटन क्षेत्रको विश्वसनीयता कमजोर हुँदै जाने खतरा बढ्ने व्यवसायीको बुझाइ रहेको छ।