काठमाडौं। जेट इन्धनको मूल्य तीव्र रुपमा बढेपछि थाई एयर एसियालले जेठ र असार महिनाबीच समग्र सिट क्षमता औसत ३० प्रतिशतले घटाउने निर्णय गरेको छ।
यस कदमसँगै काठमाडौंसहित नेपाल, भारत, हङकङ, सिङ्गापुर तथा अन्य क्षेत्रीय गन्तव्यका उडानहरूमा कटौती वा समय तालिका परिवर्तन गरिएको छ।
कम्पनीका अनुसार बैंककको डन मुएङ विमानस्थलबाट काठमाडौं जोड्ने उडानमा पनि कटौती वा समायोजन गरिएको छ। यसले नेपाल आउने तथा यहाँबाट बाहिरिने पर्यटकहरूलाई असर पार्ने देखिएको छ। विशेष गरी सस्तो भाडामा यात्रा गर्ने यात्रु र बिदा मनाउन आउने पर्यटकहरू बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
नेपालसँगै भारतका जयपुर र गुवाहाटी, इन्डोनेसियाको डेनपासार (बाली), सिंगापुरलगायतका गन्तव्यमा पनि उडान संख्या घटाइएको जनाइएको छ। भारतका केही मार्गमा भने अस्थायी रुपमा उडान रोकिएको छ।
एयरलाइन्सले उच्च सञ्चालन खर्च, इन्धन मूल्य वृद्धि र मध्य वर्षमा यात्रा माग कमजोर हुनु मुख्य कारण रहेको जनाएको छ। आन्तरिक उडानतर्फ उडान संख्या सावधानीपूर्वक समायोजन गरिने बताइएको छ। चीन, पूर्वी एसिया र दक्षिणपूर्वी एसियाका केही बजारमा सञ्चालन स्थिर रहेको कम्पनीले जनाएको छ।
यस निर्णयले क्षेत्रीय पर्यटन उद्योगमा असर पार्ने देखिएको छ। कम बजेटमा यात्रा गर्ने यात्रुका लागि विकल्प घट्ने, हवाई भाडा बढ्ने र गन्तव्यबीच यात्रु आवागमन सुस्त हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। नेपालमा थाइल्यान्डमार्फत आउने पर्यटक तथा पारवहन यात्रुमा समेत यसको प्रभाव पर्न सक्ने आंकलन गरिएको छ।