काठमाडौं। भैरहवामा निर्माणाधीन ५ तारे होटल ‘होटल बुद्ध स्टार प्राइभेट लिमिटेड’ ले बैंकको ऋण भुक्तानी गर्न नसकेपछि डिफल्ट (कर्जा तिर्न नसकेको) श्रेणीमा सूचीकृत भएको छ। होटल सञ्चालनमा आएर आम्दानी सुरु हुनुभन्दा अगाडि नै बैंकको सावाँ–ब्याज भुक्तानीको तालिका सुरु भएका कारण होटल नगद प्रवाहको संकटमा फसेको हो।
बैंकबाट लिएको ऋणको सावाँ–ब्याज समयमै भुक्तानी गर्न नसकेपछि क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले होटलको रेटिङ घटाउँदै ‘डिफल्ट’ श्रेणीमा झारेको छ। इक्रा नेपालका अनुसार होटलले ६६ करोड रुपैयाँ बराबरको बैंक ऋणको रेटिङ गराएको थियो। जसमध्ये ६५ करोडको दीर्घकालीन कर्जालाई ‘एलडी’ (एलडी माइनसबाट घटाएर) र १० करोडको अल्पकालीन कर्जालाई ‘डी’ (ए फोर बाट घटाएर) रेटिङ प्रदान गरिएको छ। इक्रा नेपालका अनुसार, होटलले सन् २०२६ को मध्य जनवरी (२०८२ माघ) सम्म भुक्तानी गर्नुपर्ने त्रैमासिक किस्ता र ब्याज ३० दिनभन्दा बढी समयसम्म बुझाउन सकेको छैन।
होटल बुद्ध स्टारको वित्तीय विवरणले के देखाउँछ भने होटलले कमाइ सुरु नगर्दै लामो समयदेखि बैंकको दायित्व पुरा गर्दै आएको थियो। रिपोर्ट अनुसार होटलले निर्माणकै चरणमा सन् २०२२ को मध्य जुलाई (२०७९ साउन) देखि नै बैंकलाई ब्याज तिर्न सुरु गरेको थियो। यस हिसाबले होटलले करिब साढे ३ वर्ष (४२ महिना) सम्म नियमित ब्याज भुक्तानी गरेको देखिन्छ। सावाँको किस्ता भुक्तानी भने सन् २०२५ को मध्य जनवरी (२०८१ माघ) देखि सुरु भएको थियो। होटलले एक वर्ष (४ वटा त्रैमासिक किस्ता) सम्म सावाँको भुक्तानी समेत गरेको थियो। तर, होटल सञ्चालनमा आउन अझै डेढ वर्षभन्दा बढी समय (सन् २०२७ अक्टोबर) लाग्ने देखिएपछि र आन्तरिक लगानी जुटाउन नसकेपछि सन् २०२६ को पहिलो किस्ताबाटै होटल डिफल्ट भएको हो।
सिमेन्ट उद्योगमा आबद्ध व्यवसायी राज कुमार पोखरेल र उनको परिवारको मुख्य लगानी रहेको यो पहिलो होटल परियोजना हो। होटलको लागत सुरुको अनुमानभन्दा ९ प्रतिशतले बढेर २ अर्ब ९ करोड २० लाख रुपैयाँ पुगेको छ। यस हिसाबले १२० कोठाको यस होटलमा एउटा कोठाको लागत १ करोड ७० लाख रुपैयाँ पर्न आउँछ।
भैरहवा (सिद्धार्थनगर–९) मा १२० कोठासहितको ५ तारे होटल निर्माण गरिरहेको यस कम्पनीको वित्तीय प्रगति अहिलेसम्म करिब ४६ प्रतिशत मात्रै छ। अझै पनि सेयरधनीले हाल्नुपर्ने पूँजी मध्ये ४४ प्रतिशत रकम भित्रिन बाँकी छ भने आवश्यक ऋणमध्ये ४८ प्रतिशत रकमको बैंकसँग अझै टुंगो लाग्न सकेको छैन। लगानीको यो ठूलो खाडल र आम्दानी शून्य हुनु नै होटल संकटमा पर्नुको मुख्य कारण हो। होटल व्यवस्थापनले सन् २०२७ को अक्टोबरसम्ममा मात्र होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसको अर्थ अझै डेढ वर्षभन्दा बढी समय होटलबाट कुनै कमाइ हुने छैन।
भैरहवा क्षेत्रमा पछिल्लो समय होटल उद्योगमा निकै ठूलो प्रतिस्पर्धा छ। सिद्धार्थनगर–९ मा निर्माणाधीन यो होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भए पनि कुनै अन्तर्राष्ट्रिय ब्रान्डसँग आबद्ध छैन। बजारमा रहेका पुराना र स्थापित होटलहरूसँग प्रतिस्पर्धा गर्दै विदेशी पर्यटक भित्र्याउन होटललाई सहज देखिँदैन।
एकातिर होटल सञ्चालनको मिति सर्दै जानु र अर्कोतिर बैंकको ऋण तिर्ने म्याद सुरु भइसक्नुले होटल बुद्ध स्टारका लगानीकर्तालाई ठूलो दबाबमा पारेको छ। अब कम्तीमा ९० दिनसम्म बैंकको किस्ता र ब्याज नियमित भुक्तानी नगरेसम्म यस होटलको क्रेडिट रेटिङमा सुधार हुने सम्भावना छैन। सरकारले पर्यटन दशक (२०२३/२०३३) घोषणा गरे पनि भैरहवाको पर्यटन बजारमा देखिएको सुस्तताले यस होटलको भविष्यमाथि चुनौती थपिएको रेटिङ रिपोर्टले औंल्याएको छ।