काठमाडौं। महाराजगञ्जमा विश्वप्रसिद्ध ‘म्यारियट’ ग्रुपको ब्रान्डमा पाँचतारे होटल ‘ले मेरिडियन’ निर्माण गर्ने कर्मा हस्पिटालिटीले ३ अर्ब रुपैयाँ ऋण सुनिश्चित गरेको छ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीले बैंकबाट लिने ३ अर्ब रुपैयाँ बराबरको बैंक ऋणको साख मूल्यांकन (रेटिङ) लाई पुनः पुष्टि गरेसँगै होटल निर्माणका लागि वित्तीय स्रोतको सुनिश्चितता भएको हो।
इक्रा नेपालले कम्पनीको २ अर्ब ९२ करोड रुपैयाँको दीर्घकालीन ऋणका लागि एलबी प्लस रेटिङ प्रदान गरेको छ। एलबी प्लस रेटिङको अर्थ कम्पनीले लिएको वित्तीय दायित्व (ऋण र ब्याज) समयमै भुक्तानी गर्न सक्ने क्षमतामा मध्यम खालको जोखिम रहेको मानिन्छ।
यो रेटिङले परियोजना निर्माणको प्रारम्भिक चरणमा रहेकाले जोखिम देखिए पनि प्रवर्द्धकको अनुभव र बलियो ब्रान्डका कारण ऋण सुरक्षित हुन सक्ने आधार रहेको संकेत गर्छ। त्यस्तै, ८ करोडको अल्पकालीन ऋणका लागि ए–फोर रेटिङ प्राप्त भएको छ।
महाराजगञ्जमा १७० कोठा रहने ’ले मेरिडियन’ होटलको कुल लागत ४ अर्ब २ करोड रुपैयाँ अनुमान गरिएको छ। यस परियोजनामा ऋण र स्वपूँजीको अनुपात ७३ः२७ रहेको छ।
रिपोर्टका अनुसार, बैंक ऋण कुल लागतको ७३ प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बैंकहरूबाट ऋण लिइएको छ। यसका लागि विभिन्न बैंकहरूको समूह (सहवित्तीय कर्जा) सँग सम्झौता भई ऋण सुनिश्चित भइसकेको छ।
कुल लागतको २७ प्रतिशत अर्थात् १ अर्ब २ करोड रुपैयाँ प्रवद्र्धकले लगानी गर्नेछन्। यसमध्ये सन् २०२६ को मध्य जनवरीसम्म कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ पुगिसकेको छ, जुन कुल आवश्यक स्वपूँजीको करिब ५० प्रतिशत हो। बाँकी रकम निर्माण कार्य बढ्दै जाँदा थप्दै लगिनेछ।
होटल परियोजनाका एकल प्रवद्र्धक तथा अध्यक्ष कर्मा तेन्जिङ हुन्। उनी महाराजगञ्जमै निर्माणाधीन १६२ युनिटको लक्जरी अपार्टमेन्ट ’कर्मा रेसिडेन्सेस’ का पनि मुख्य लगानीकर्ता हुन्। प्रवर्द्धक तेन्जिङसँग ठूला भौतिक पूर्वाधार र घरजग्गा व्यवसायको सफल अनुभव भएकाले बैंकहरूले यस परियोजनामा ठूलो परिमाणमा ऋण प्रवाह गरेका हुन्।
म्यारियटको ब्रान्ड र २६ वर्षे सम्झौता
होटलको सबैभन्दा बलियो पक्ष यसको अन्तर्राष्ट्रिय आबद्धता हो। कर्मा हस्पिटालिटीले म्यारियट इन्टरनेसनलको ‘ले मेरिडियन’ ब्रान्ड प्रयोग गर्न र होटल व्यवस्थापनका लागि २६ वर्षको लामो सम्झौता गरेको छ।
म्यारियटको विश्वव्यापी ग्राहक आधार र बजारीकरणले गर्दा होटल सञ्चालनमा आएपछि विदेशी पर्यटक प्रशस्त आउने र बैंकको ऋण सजिलै चुक्ता हुने विश्वास गरिएको छ।
हालसम्म होटल परियोजनाको ३२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। मुख्यतया जग्गा खरिद र जग्गा विकासको काम सम्पन्न भई अब भौतिक निर्माणले गति लिने चरणमा पुगेको छ। होटल महाराजगञ्जमा निर्माण भइरहेको छ, जहाँ धेरै वैदेशिक दूतावास र अन्तर्राष्ट्रिय संस्था रहेका छन्। ठमेल र अन्तर्राष्ट्रिय विमानस्थलको नजिक भएकाले यसले कूटनीतिज्ञ र उच्च पदस्थ पाहुनालाई आकर्षित गर्नेछ।
यद्यपि, निर्माणको प्रारम्भिक चरणमा रहेकाले समयमै निर्माण सम्पन्न गर्नु र बढ्दो महँगीका कारण लागत बढ्न नदिनु कम्पनीका लागि मुख्य चुनौती हुने रिपोर्टमा उल्लेख छ। काठमाडौंमा अन्य पाँचतारे होटल पनि थपिने क्रममा रहेकाले बजारमा प्रतिस्पर्धा भने तीव्र हुने देखिन्छ।