काठमाडौं। चितवनको सौराहामा रहेको पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटीएम हस्पिटालिटीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो।
बोर्डको पछिल्लो विवरणअनुसार केटीएम हस्पिटालिटी बोर्डको पाइपलाइनमा १८औं नम्बरमा सूचीकृत भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीमा आरबीबी मर्चेन्ट बैंकिङ छ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था र रेटिङ?
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीले चितवनको सौराहामा कुल १ अर्ब ७० करोड ५ लाख रुपैयाँको लागतमा रिसोर्ट निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ।
आईपीओ निष्कासन गरिएसँगै यो आयोजनामा ऋण र स्वपुँजीको अनुपात ६१.५ः ३८.५ रहनेछ। अर्थात्, परियोजनामा बैंक ऋणको हिस्सा अझै बढी रहने देखिए पनि कम्पनीले स्वपूँजीको अनुपात बढाउँदै लगेको देखिन्छ। कम्पनीले सन् २०२५ को साउनदेखि ‘सफ्ट ओपनिङ’ र असोज मध्यदेखि पूर्ण रूपमा रिसोर्ट सञ्चालनमा ल्याएको हो।
केटीएम हस्पिटालिटी सुरुमा प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको थियो, तर २०८१ असार २५ गते यसलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरिएको हो। कम्पनीले आफ्नो परियोजनाको पुँजीगत संरचनालाई थप मजबुत बनाउन, बैंकको ऋण भार कम गर्न र सर्वसाधारणलाई समेत लगानीमा सहभागी गराउन आईपीओ जारी गर्न लागेको हो।
होटल उद्योगमा ‘जेस्टेसन पिरियड’ (लगानी फिर्ता हुन लाग्ने समय) लामो हुने भएकाले दीर्घकालीन पुँजी जुटाउन आईपीओ महत्त्वपूर्ण माध्यम बन्ने रिपोर्टमा उल्लेख छ।
यो कम्पनीको नेतृत्व अनुभवी व्यवसायी रामेश्वर शाहले गरिरहेका छन्। शाह केटीएम ग्रुप होल्डिंग्सका अध्यक्ष तथा सीईओ हुन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वउपाध्यक्ष र आउटसोर्सिङ एसोसिएसन अफ नेपालका अध्यक्षसमेत हुन्। उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा पनि उनको सक्रिय भूमिका रहेको छ।
रिसोर्ट सञ्चालनका लागि कम्पनीले फ्रान्सेली होटल चेन ‘लुभ्र होटल्स् ग्रुप’अन्तर्गतको ‘रोयल ट्युलिप’ ब्रान्डसँग व्यवस्थापकीय सम्झौतामा चलिरहेको छ। चितवनको राप्ती नदी र कुमरोज सामुदायिक वनको आडमा ४.१२ एकड क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा आधुनिक कोठा छन्। रिसोर्टमा रेस्टुरेन्ट, जिम, हेल्थ क्लब, स्विमिङ पुल र हेलिप्याडजस्ता सुविधा छन्।