काठमाडौं। अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब ५ हजार अमेरिकी सैनिक फिर्ता गर्ने योजना बनाएको छ, जसले अमेरिका–युरोप सम्बन्धमा नयाँ तनावको संकेत गरेको छ।
शुक्रबार सार्वजनिक विवरणअनुसार, एक वरिष्ठ रक्षा अधिकारीले नाम नखुलाउने सर्तमा बताएअनुसार यो योजना हाल विचाराधीन अवस्थामा छ । जर्मनीका चान्सलर फ्रिडरिख मर्जले हालै इरानसँग सम्बन्धित अमेरिकी सैन्य गतिविधिबारे गरेको टिप्पणीलाई ‘अनुचित र सहयोगी नभएको’ भन्दै अमेरिकी पक्ष असन्तुष्ट देखिएको छ।
यसअघि मर्जले अमेरिकाको इरानसँगको सैन्य संलग्नतालाई ‘योजनाविहीन’ भन्दै आलोचना गरेका थिए। उनले अमेरिकालाई इरानी नेतृत्वबाट ‘अपमानित भइरहेको’ आरोपसमेत लगाएका थिए। यी टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव बढाएको देखिन्छ।
यसको प्रतिक्रियास्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन नेतृत्वमाथि कडा टिप्पणी गर्दै मर्जले ‘के बोलिरहेका छन् भन्ने थाहा नभएको’ बताएका थिए। साथै, उनले इरानको आणविक महत्वाकांक्षाप्रति जर्मनी गम्भीर नभएको आरोप पनि लगाएका थिए।
ट्रम्पले सामाजिक सञ्जालमार्फत जर्मनीमा रहेका अमेरिकी सैनिक संख्या घटाउने सम्भावना रहेको संकेत दिएका छन् भने यसबारे निर्णय ‘छोटो समयमै’ हुने बताए। उनले स्पेन र इटालीमा पनि अमेरिकी सैनिक उपस्थिति घटाउन सकिने धारणा व्यक्त गरेका छन्। युरोपेली सहयोगी देशहरूले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वमा पर्याप्त सहयोग नगरेको भन्दै उनले ती देशको आलोचना गरेका छन्।
जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले सम्भावित सैनिक कटौतीका लागि आफ्नो देश तयार रहेको बताए। उनले यसलाई परिस्थितिअनुसार सामना गरिने विषयका रूपमा लिएको संकेत दिए।
हालको तथ्यांकअनुसार गत वर्ष अन्त्यसम्म जर्मनीमा ३६ हजारभन्दा बढी अमेरिकी सक्रिय सैनिक तैनाथ छन्। यसबाहेक करिब एक हजार ५०० आरक्षित सैनिक र ११ हजार ५०० नागरिक कर्मचारी पनि त्यहाँ रहेका छन्।
जर्मनीमा अमेरिकी युरोप कमान्ड र अफ्रिका कमाण्डको मुख्यालय रहेको छ र रामस्टाइन हवाई अड्डा अमेरिकी सैन्य सञ्चालनका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ।–एजेन्सी