एजेन्सी। भारतीय रिजर्भ बैंकको नयाँ डेपुटी गभर्नरमा रोहित जैन नियुक्त भएका छन्। मन्त्रिपरिषद्को नियुक्ति समितिले जैनलाई आगामी तीन वर्षका लागि यस पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
जैनले वर्तमान डेपुटी गभर्नर टी रवि शंकरको स्थान लिने छन्। जसको कार्यकाल आजै (मे २ मा) सकिँदै छ। उनको यो नियुक्ति आगामी मे ३ वा कार्यभार सम्हालेको दिनदेखि लागू हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
नवनियुक्त डेपुटी गभर्नर जैनसँग केन्द्रीय बैंकमा तीन दशक लामो काम गरेको अनुभव छ। यसअघि सन् २०२० डिसेम्बरदेखि उनले आरबीआईमा कार्यकारी निर्देशकको रूपमा सुपरिवेक्षण विभागअन्तर्गत जोखिम, एनालिटिक्स र भल्नरेबिलिटी एसेसमेन्ट जस्ता महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै आएका थिए।
केन्द्र सरकारले रिक्त रहेको डेपुटी गभर्नर पदका लागि चार जना कार्यकारी निर्देशकहरूको अन्तर्वार्ता लिएकोमा जैनको नाममा अन्तिम मुहर लागेको हो। आफ्नो करियरको दौरान उनले सुपरिवेक्षण, मानव संशाधन व्यवस्थापन र बैंकिङका विविध आयाममा दख्खल राख्दै आएका छन्।
शैक्षिक रुपमा पनि जैन निकै सबल मानिन्छन्। उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर र बिजनेस एडमिनिस्ट्रेशनमा मास्टर डिग्री हासिल गरेका छन्। यसका साथै उनले बैंकिङ जोखिम र नियमनमा अन्तर्राष्ट्रिय प्रमाणपत्र र सर्टिफाइड एसोसिएट अफ द इन्डियन इन्स्टिच्युट अफ बैंकिङ एन्ड फाइनान्स जस्ता व्यावसायिक योग्यतासमेत प्राप्त गरेका छन्। उनी एक प्रमाणित बैंक प्रशिक्षकसमेत हुन्।
आरबीआईको संरचनाअनुसार कुल चार जना डेपुटी गभर्नर रहने व्यवस्था छ। जसमा दुई जना बैंककै आन्तरिक अधिकारीबाट बढुवा भएर आउँछन् भने दुई जना बाह्य क्षेत्रबाट नियुक्त गरिन्छ। जैनसँगै एस.सी. मुर्मु आन्तरिक प्रतिस्पर्धाबाट आएका डेपुटी गभर्नर हुन् भने अर्थशास्त्री पुनम गुप्ता र व्यावसायिक बैंकर स्वामीनाथन जे. बाह्य क्षेत्रको प्रतिनिधित्व गर्दै यसअघि पदमा आसिन छन्।
अब जैनले टी रबी शंकरले हेर्दै आएका वित्तीय बजार नियमन, विदेशी विनिमय र भुक्तानी तथा फछ्र्यौट प्रणाली जस्ता संवेदनशील विभागहरूको जिम्मेवारी पाउने सम्भावना छ।