काठमाडौंं। प्रभु बैंकको साख रेटिङमा गिरावट आएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको इस्युअर रेटिङ र ऋणपत्रको रेटिङ दुवैलाई घटाउँदै ‘नकारात्मक प्रभाव पर्न सक्ने’ निगरानीको सूचीलाई निरन्तरता दिएको छ। बैंकको सम्पत्तिको गुणस्तरमा आएको गिरावट र कमजोर पूँजीकोषलाई मुख्य आधार मान्दै इक्राले रेटिङ घटाएको हो।
इक्रा नेपालले बैंकको इस्युअर रेटिङलाई ‘ट्रिपल बी माइनस’ बाट घटाएर ‘डबल बी प्लस’ कायम गरेको छ। त्यसैगरी, बैंकद्वारा जारी १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको रेटिङ पनि ‘एल ट्रिपल बी माइनस’ बाट घटाएर ‘एल डबल बी प्लस’ मा झारिएको छ।
यी रेटिङहरूले बैंकसँग आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्न ‘मध्यमस्तरको जोखिम’ रहेको संकेत गर्छन्। रेटिङमा ‘२’ संकेतको रादिएको छ। यसको अर्थ बैंक अझै पनि नकारात्मक निगरानीको सूचीमा छ र यसको रेटिङ आगामी दिनमा थप घट्न सक्ने सम्भावना कायमै छ भन्ने हो।
खराब कर्जा र सम्पत्तिको गुणस्तरमा दबाब
रिपोर्टका अनुसार प्रभु बैंकको रेटिङ घट्नुको मुख्य कारण यसको खराब कर्जा (एनपिएल) मा भएको अनपेक्षित वृद्धि हो। इक्राका अनुसार, सन् २०२५ जनवरीमा ५.०६ प्रतिशत रहेको बैंकको खराब कर्जा सन् २०२६ जनवरीको मध्यसम्म आइपुग्दा बढेर ७.९४ प्रतिशत (करिब ८ प्रतिशत) पुगेको छ। त्यस्तै, भाखा नाघेका कर्जा ३९ प्रतिशत रहेको छ।
कुल कर्जाको १३.४ प्रतिशत हिस्सा यस्तो छ जुन ६१ देखि ९० दिनसम्म भाखा नाघेर खराब कर्जामा परिणत हुने संघारमा पुगेको छ। यसले गर्दा बैंकको नेट एनपिएल र नेटवर्थको अनुपात १९.१४ प्रतिशत पुगेको छ, जुन उद्योगका प्रतिस्पर्धी बैंकहरूको तुलनामा उच्च हो।
पछिल्लो वित्तीय विवरणअनुसार, प्रभु बैंकको पूँजीकोषको अवस्था पनि नाजुक अवस्थामा पुगेको छ। बैंकको प्राथमिक पूँजीकोष घटेर ८.६८ प्रतिशतमा झरेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा ८.५ प्रतिशतको नजिक हो। यदि खराब कर्जा अझै बढ्दै गए र प्रोभिजनिङ थप्नु परेमा बैंकले नियामक सीमा कायम गर्न कठिन हुने रिपोर्टमा उल्लेख छ।
बैंकको नाफामा पनि संकुचन देखिएको छ। चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको कुल सम्पत्ति ४ खर्ब १० अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने सोही अवधिमा बैंकले ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। सम्पत्तिमा प्रतिफल घटेर ०.५० प्रतिशतमा सीमित भएको छ। खराब कर्जाका अतिरिक्त बैंकमाथि केही संस्थागत सुशासनका प्रश्नहरू पनि उठेका छन्। साथै, देशको विद्यमान आर्थिक शिथिलता र मध्यपूर्वी देशहरूमा बढ्दो तनावका कारण रेमिट्यान्स प्रवाहमा पर्न सक्ने असरले बैंकको भविष्यको निक्षेप वृद्धिमा चुनौती थप्न सक्ने रिपोर्टमा औंल्याइएको छ।
बजार पहुँच र सबल पक्षहरू
चुनौतीहरूका बीच प्रभु बैंकको सबैभन्दा सबल पक्ष यसको वृहत शाखा सञ्जाल र तरलताको अवस्था हो। सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि बैंकको उपस्थिति देशभर छ। हाल बैंकका ३ सय १२ शाखा, ६९ एक्स्टेन्सन काउन्टर र २ सय ६० एटिएमहरू सञ्चालनमा छन्। बैंकको निक्षेपमा ४.४८ प्रतिशत र कर्जामा ४.१९ प्रतिशत बजार हिस्सा रहेको छ।
बैंकको तरलता अवस्था सहज देखिएको छ। निक्षेप र कर्जाको अनुपात ७१ प्रतिशत र खुद तरल सम्पत्ति ३९ प्रतिशत रहनु सकारात्मक पक्ष हो। साथै, बैंकको लागत कम गराउने चल्ती र बचत निक्षेपको हिस्सा ५२ प्रतिशत पुगेको छ, जसले गर्दा बैंकको निक्षेप लागत ३.६५ प्रतिशतमा झरेको छ।