काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकको कर्जाको गुणस्तरमा निरन्तर गिरावट आएपछि इक्रा नेपालले बैंकको इस्युअर रेटिङ घटाएको छ। बैंकको कर्जा असुलीमा देखिएको समस्या र बढ्दो खराब कर्जाका कारण इक्राले यसअघि कायम गरेको ‘डबल बी’ रेटिङलाई घटाएर ‘डबल बी माइनस’ मा झारेको हो।
यो रेटिङले बैंकले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। बैंकको सम्पत्तिको गुणस्तर कमजोर हुनु र सञ्चालन खर्च उच्च रहनु नै रेटिङ घट्नुको मुख्य कारण रहेको रिपोर्टमा उल्लेख छ।
इक्राको रिपोर्ट अनुसार, बैंकको वित्तीय स्वास्थ्य बिग्रनुको प्रमुख कारण खराब कर्जा (एनपिएल) मा भएको भारी वृद्धि हो। सन् २०२५ को मध्य–जनवरीमा ४.९९ प्रतिशत रहेको खराब कर्जा सन् २०२६ को सोही अवधिमा बढेर ६.८७ प्रतिशत पुगेको छ। यदि बैंकले सकारेको गैर–बैंकिङ सम्पत्तिलाई समेत जोड्ने हो भने यस्तो कर्जाको अनुपात ७.८७ प्रतिशत पुग्छ, जुन विकास बैंकहरूको औसत दरभन्दा निकै उच्च हो।
मुलुकमा कायम आर्थिक सुस्तता र ऋणीहरूको ऋण तिर्ने क्षमतामा आएको ह्रासले गर्दा बैंकले लगानी गरेको कर्जा उठ्न नसकेको हो। यसका साथै शून्य दिनभन्दा माथिको बक्यौता ३७ प्रतिशत पुगेको छ। यसले पनि आगामी दिनमा पनि बैंकको खराब कर्जा अझै बढ्न सक्ने जोखिम रहेको रिपोर्टमा उल्लेख छ।
खराब कर्जा बढ्दा बैंकको सोल्भेन्सी प्रोफाइल अर्थात् वित्तीय स्थिरतामा समेत ठूलो दबाब परेको छ। बैंकको कुल नेटवर्थको तुलनामा खुद खराब कर्जाको अनुपात २५ प्रतिशत पुगेको छ, जसले बैंकको वास्तविक पुँजीको ठूलो हिस्सा जोखिमयुक्त कर्जाले ओगटेको पुष्टि गर्छ। यस्तो अनुपात रेटिङ गरिएका अन्य प्रतिस्पर्धी विकास बैंकहरूको तुलनामा सबैभन्दा उच्च हो। कर्जाको गुणस्तर खस्किएसँगै बैंकले सम्भावित जोखिमका लागि राख्नुपर्ने रकम प्रोभिजनिङ बढेको छ, जसले बैंकको नाफा कमाउने क्षमतालाई कमजोर बनाइदिएको छ।
बैंकको आम्दानी र प्रतिफलका सूचकहरू पनि औसत स्तरमै खुम्चिएका छन्। बैंकको सञ्चालन खर्च बैंकिङ उद्योगकै औसतभन्दा बढी रहनुले नाफामा संकुचन ल्याएको रिपोर्टमा उल्लेख छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ३० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ६० करोड ७० लाख रुपैयाँको तुलनामा कमजोर हो।
बैंकको सम्पत्तिमा प्रतिफल ०.९५ प्रतिशत र नेटवर्थमा प्रतिफल १०.६७ प्रतिशत रहेको छ। ब्याज आम्दानीमा केही सुधार देखिए पनि खराब कर्जाका कारण सिर्जना हुने अतिरिक्त लागतले गर्दा बैंकले उच्च प्रतिफल दिन सकेको छैन। पूँजी कोषको अवस्था हेर्दा बैंकको पूँजी कोष अनुपात १३.९१ प्रतिशत छ, जुन नियामक निकायले तोकेको ११ प्रतिशतको सीमाभन्दा माथि रहेकाले केही राहत मिलेको देखिन्छ। तर, खराब कर्जाको दर यसरी नै बढिरहेमा यो पूँजी कोष पनि चाँडै नै दबाबमा पर्न सक्ने इक्राको ठहर छ।
यद्यपि, बैंकको निक्षेपको संरचनामा भने केही सकारात्मक पक्षहरू देखिएका छन्। बैंकको चल्ती र बचत निक्षेपको हिस्सा बढेर ४७ प्रतिशत पुगेको छ, जसले गर्दा बैंकको निक्षेप लागत ४.४१ प्रतिशतमा झरेको छ। यो सस्तो निक्षेपले बैंकलाई ब्याज खर्च घटाउन सघाउ पुर्याएको छ।