काठमाडौं। लुम्बिनी विकास बैंकको वित्तीय अवस्थामा गम्भीर चुनौती देखिएपछि इक्रा नेपालले बैंकको साख (रेटिङ) घटाएको छ। बैंकको कर्जा असुलीमा आएको व्यापक गिरावट र महँगो निक्षेपका कारण कोषको लागत बढ्दा वित्तीय स्वास्थ्यमा दोहोरो दबाब परेको हो।
इक्रा नेपालले बैंकको इस्युअर रेटिङ ‘डबल बी’ बाट घटाएर ‘डबल बी माइनस’ मा झारेको छ, यो रेटिङले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको र भविष्यमा डिफल्टको सम्भावना बढ्दै गएको जनाउँछ।
इक्रा नेपालको रेटिङ रिपोर्टअनुसार, बैंकको सबैभन्दा ठूलो समस्या सम्पत्तिको गुणस्तरमा देखिएको गिरावट हो। रिपोर्टअनुसार बैंकको खराब कर्जा (एनपिएल) ६.७८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४.६८ प्रतिशत मात्र थियो। बैंकले सकारेको गैर–बैंकिङ सम्पत्ति (एनबिए) लाई समेत गणना गर्ने हो भने यो अनुपात ७.३० प्रतिशत पुग्छ। खराब कर्जा बढ्नुको मुख्य कारण मुलुकमा कायम आर्थिक सुस्तता र विशेषगरी साना तथा मझौला (एसएमई) क्षेत्रका ऋणीहरूको भुक्तानी क्षमता कमजोर हुनु हो।
बैंकको कुल कर्जा पोर्टफोलियोको झन्डै ४० प्रतिशत हिस्सामा कर्जा भुक्तानीको समस्या देखिएको छ। यसलाइ इक्राले बैंकको सबैभन्दा जोखिम पक्षको रुपमा औंल्याउको छ। शून्य दिनभन्दा माथिको यस्तो बक्यौता अघिल्लो वर्ष २९ प्रतिशत रहेकोमा अहिले ४० प्रतिशत पुग्नुले बैंकको ठूलो लगानी जोखिममा रहेको इक्राको बिश्लेषण छ। यसमध्ये पनि ६१ देखि ९० दिनसम्मको बक्यौतामा रहेको १६ प्रतिशत कर्जा कुनै पनि बेला खराब कर्जामा परिणत हुन सक्ने जोखिम छ, जसले बैंकलाई थप प्रोभिजनिङको मारमा पार्ने देखिन्छ।
कर्जा असुलीमा देखिएको सुस्तताले बैंकको सोल्भेन्सी अर्थात् खुद नेटवर्थ र खराब कर्जाको सम्बन्धलाई पनि बिगारिदिएको छ। बैंकको नेटवर्थको तुलनामा खुद खराब कर्जाको अनुपात १६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १२ प्रतिशत थियो। यसले बैंकको वास्तविक पुँजीको ठूलो हिस्सा खराब भइसकेको कर्जाले खाइसकेको देखाउँछ, जसले बैंकको आन्तरिक पुँजी निर्माण र लाभांश दिने क्षमतामा प्रत्यक्ष नकारात्मक प्रभाव पार्छ। खराब कर्जाका कारण बैंकले सम्भावित जोखिमका लागि राख्नुपर्ने प्रोभिजनिङ रकम बढेकाले चालू आर्थिक वर्षको नाफामा थप संकुचन आउने निश्चित रहेको रिपोर्टमा उल्लेख छ।
खराब कर्जासँगै बैंकले निक्षेपको संरचनामा पनि ठूलो चुनौती सामना गरिरहेको छ। बैंकको चल्ती र बचत निक्षेपको हिस्सा ४६ प्रतिशत मात्र छ, जुन विकास बैंक उद्योगको औसत ५२ प्रतिशतभन्दा निकै कम हो। सस्तो निक्षेपको अभावमा बैंकले मुद्दती निक्षेपमा बढी निर्भर हुनुपर्दा कोषको लागत (कस्ट अफ फन्ड) र आधार दर (बेसरेट) महँगो हुन पुगेको छ। निक्षेप महँगो हुनुको सिधा अर्थ बैंकको खुद ब्याज मार्जिन खुम्चिनु हो, जसले बैंकलाई प्रतिस्पर्धी बजारमा सस्तो दरमा कर्जा लगानी गर्न बाधा पुर्याउँछ।
रिपोर्टका अनुसार, चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको निक्षेपमा ७ प्रतिशतको गिरावट आउनु र कर्जा प्रवाहमा पनि ३ प्रतिशतको संकुचन देखिनुले बैंकको व्यवसाय विस्तार गर्ने क्षमता कमजोर हुँदै गएको देखाउँछ। बैंकको कर्जा–निक्षेप अनुपात ८७.८८ प्रतिशत पुगेको छ, जुन नियामक सीमा ९० प्रतिशतको नजिक हो। यसले नयाँ निक्षेप नजुटाई बैंकले थप कर्जा लगानी गर्न नसक्ने अवस्था सृजना गरेको छ।
बैंकको नाफा र प्रतिफलका सूचकहरू पनि दबाबपूर्ण छन्। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले २८ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २४ करोड २० लाखको तुलनामा केही बढी देखिए पनि यो मुख्यतया प्रोभिजनिङमा गरिएको लेखांकनका कारण मात्र सम्भव भएको हो। यदि ४० प्रतिशतको उच्च बक्यौता रहेको कर्जा खराब कर्जामा परिणत भएमा प्रोभिजनिङ खर्च ह्वात्तै बढ्नेछ र नाफा ऋणात्मक हुन सक्ने जोखिम छ। बैंकको नेटवर्थमा प्रतिफल ८.१४ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.८५ प्रतिशतमा खुम्चिनुले बैंकको लगानीअनुसारको आम्दानी हुन नसकेको देखाउँछ।
साथै, बैंकको कर्जा केही सिमित ठूला ग्राहकहरूमा केन्द्रित हुनु अर्को जोखिम हो। टप–२० ऋणी समूहहरूमा मात्रै बैंकको कुल कर्जाको १७ प्रतिशत हिस्सा रहेको छ, जसले गर्दा कुनै एक ठूलो ऋणी समस्यामा पर्दा बैंकको समग्र वित्तीय जग नै हल्लिन सक्छ।
यद्यपि, बैंकको पूँजी कोष अनुपात १४.०३ प्रतिशत रहनुले भने केही राहत दिएको छ। यो नियामक निकायले तोकेको ११ प्रतिशतको सीमाभन्दा माथि रहेकाले बैंकसँग तत्कालका लागि सम्भावित वित्तीय झट्का धान्न सक्ने पूँजीको आधार छ। देशभर ८९ वटा शाखा र सन् १९९५ देखिको लामो अनुभव भए तापनि वाणिज्य बैंकहरूसँगको तीव्र प्रतिस्पर्धा र सीमित उत्पादनका कारण बैंकलाई साख जोगाउन कठिन भइरहेको छ। आगामी दिनमा खराब कर्जा असुलीमा आक्रामक हुनु, निक्षेपको लागत घटाउनु र कर्जाको केन्द्रीकरण कम गर्नु नै बैंकको अस्तित्व जोगाउने मुख्य आधार हुने इक्रा नेपालको प्रतिवेदनले औंल्याएको छ।