काठमाडौं। चालू आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म सूचीकृत ५० मध्ये ३२ वटा लघुवित्त संस्थाले सामूहिक रूपमा ५ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त संस्थाले ४ अर्ब १० करोड ३८ लाख रुपैयाँ नाफा कमाएका थिए। विवरणअनुसार लघुवित्त क्षेत्रको नाफा ३०.९७ प्रतिशतले बढेको हो।
यस अवधिमा सबभन्दा बढी छिमेक लघुवित्तले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.८५ प्रतिशतले बढी हो। कम्पनीले गत वर्ष यस्तो खुद नाफा ८५ करोड ३५ लाख आर्जन गरेको थियो। दोस्रोमा डिप्रोक्स लघुवित्तले ६८ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष ४३ करोड २१ लाख आर्जन गरेको थियो।
जीवन विकास लघुवित्तले ६२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएर तेस्रो बनेको छ। कम्पनीले गत वर्ष ३५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। साना किसान विकास लघुवित्तको नाफा भने घटेको छ। संस्थाले ४८ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको ५४ करोड ५० लाख आर्जन गरेको थियो।
यस्तै, ग्रामीण विकास लघुवित्तले ३० करोड १५ लाख, ग्लोबल आइएमई लघुवित्तले २१ करोड ९५ लाख र स्वरोजगार लघुवित्तले २१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
सूर्योदय वोमी लघुवित्तले १८ करोड ९३ लाख, आशा लघुवित्तले १७ करोड ६२ लाख खुद नाफा कमाएका छन्। निर्धन उत्थान लघुवित्तको नाफा भने तीव्र रूपमा घटेको छ। संस्थाले १५ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ जबकि गत वर्ष यही अवधिमा ४८ करोड ५ लाख नाफा कमाएको थियो।