काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका–९ की ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगर–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका–३० बस्ने नवलपरासीपूर्वका ५३ वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौँ महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासीपूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया आलेमगर छन्।
पक्राउ परेकामध्ये शैलेन्द्रले सर्बिया, स्लोभाकियालगायतका देश पठाइदिन्छु भन्दै १३ जनाबाट ३५ लाख ७० हजार, सुमनाले युएई पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख ८२ हजार, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जनाबाट १० लाख, वासुदेवले क्यानडा पठाइदिन्छु भन्दै एक जनाबाट सात लाख ५० हजार, धनबहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख र नौमायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख चार हजार ५०० रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीन भएकालाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी बुलेटिनमा उल्लेख छ। पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, वासुदेव र धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ भने नौमायालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उल्लेख छ।