काठमाडौं। सिटिजन्स बैंकको नेतृत्वको सहवित्तीयकरणमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको लागी साढे ७ अर्ब लगानी जुटेको छ। सिटिजन्सको नेतृत्वमा सो हाईड्रोमा प्रभु र एनआईसी एशिया बैंकले लगानी गर्ने गरी सम्झौता भएको छ।
नेपालको जलविद्युत क्षेत्रमा लगानी प्रवर्द्धन गर्दै ऊर्जा आत्मनिर्भरतामा टेवा पुऱ्याउने उद्देश्यका साथ आयोजनाको वित्तीय व्यवस्थापन कार्य सम्पन्न भएको सिटिजन्स बैंकले जनाएको छ।
बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच आयोजनाको प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर र ऋण लगानी गर्ने सहवित्तीयकरण बैंकहरुबीच कर्जा सम्झौतामा हस्ताक्षर भएको हो।
लमजुङ जिल्लास्थित मर्स्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकालाई कार्यक्षेत्र बनाएर निर्माण हुने यस आयोजनाको कुल लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनामा ऋण र स्वपुँजीको अनुपात ६७:३३ कायम गरिएको छ।
जसअनुसार, सिटिजन्स बैंकको अगुवाईमा रहेका बैंकहरुले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी ३३ प्रतिशत रकम (करिब ३ अर्ब ८० करोड रुपैयाँ) प्रवर्द्धकहरुले स्वपुँजीका रुपमा परिचालन गर्ने छन्।
कम्पनीका अनुसार यो आयोजना आगामी चार वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ। उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लमजुङस्थित उदीपुर सबस्टेशनमार्फत वितरण गरिनेछ। आयोजनाबाट वार्षिक कुल ३१२.६०२ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ, जसमा हिउँदयाममा ११२.०९९ गिगावाट घन्टा र बर्षायाममा २००.५०३ गिगावाट घन्टा योगदान रहनेछ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकले स्थापनाकालदेखि नै हरित ऊर्जालाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको स्मरण गराए। ‘निजी क्षेत्र र बैंकिङ क्षेत्रको सहकार्यले नै देशको ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति सम्भव भएको हो,’ उनले भने, ‘सिटिजन्स बैंकले एकल र सहवित्तीयकरणमार्फत साना–ठूला धेरै आयोजनालाई सफल बनाएको छ र यो ५० मेगावाटको आयोजना हाम्रो लगानीको अर्को एउटा महत्वपूर्ण कोशेढुङ्गा हुनेछ।’
बैंकले हालसम्म देशभर कुल १,६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ। यसमध्ये १६ वटा आयोजना (२७४.४०१ मेगावाट) निर्माण सम्पन्न भइसकेका छन् भने २६ वटा आयोजना (१,३३०.८२५ मेगावाट) निर्माणाधीन अवस्थामा रहेका छन्। बैंकले १८ वटा आयोजनामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। सिटिजन्स बैंकले नेपालका ६ वटै प्रदेशमा जलविद्युत आयोजनाहरुमा लगानी फैलाएको छ।
जसअनुसार गण्डकी प्रदेशमा सर्वाधिक ६१६.४६५ मेगावाट ९९ आयोजना०, कोशीमा ५२१.६६६ मेगावाट (१४ आयोजना), बागमती प्रदेशमा ३९३.८२५ मेगावाट (१४ आयोजना), लुम्बिनी प्रदेशमा ५३.०२ मेगावाट (२ आयोजना) र कर्णाली प्रदेशमा २०.२५ मेगावाट (३ आयोजना) रहेका छन्।
दिब्यज्योती हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतिस न्यौपानेले आयोजनाका लागि आवश्यक पर्ने विद्युत विकास विभागको अनुमति, वातावरणीय प्रभाव मूल्यांकन र नेपाल विद्युत प्राधिकरणसँगको पीपीएलगायतका सबै कानूनी प्रक्रियाहरु पूरा भइसकेको जानकारी दिए। वित्तीय व्यवस्थापनको टुंगो लागेसँगै आयोजनाको भौतिक निर्माण कार्य तत्काल तीव्र गतिमा अगाडि बढाइने उनले बताए।