काठमाडौं। विश्व महाशक्ति राष्ट्रद्वय अमेरिका र चीनका राष्ट्रपतिबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा प्रत्यक्ष वार्ता भएको छ। वार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई राजनीतिरहित भएर दुई मुलुकबीच आर्थिक सहकार्यका क्षेत्रमा सहकार्य गर्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
वार्तामा राष्ट्रपति सीले समकक्षी ट्रम्पअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रतिनिधिमण्डललाई स्वागत गर्दै दुई देश प्रतिद्वन्द्वी नभएर साझेदार हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रपति सीले वर्तमान समय अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र उतारचढावपूर्ण रहेको उल्लेख गर्दै विश्व नयाँ दोसाँधमा उभिएकाले दुई शक्तिशाली राष्ट्रबीच सहकार्य जरुरी रहेकामा जोड दिएका छन्।

सीले विश्वका प्रमुख दुई शक्ति राष्ट्रका रूपमा इतिहास र मानवताको भविष्यका लागि यी प्रश्नको जवाफ दिनु पनि जिम्मेवारी भएको औंल्याए। उनले स्वतन्त्रताको २५०औं वार्षिकोत्सव अवसरमा ट्रम्प र अमेरिकालाई बधाइसमेत दिए।
दुई देशबिच मतभेदभन्दा साझा हितका विषय धेरै रहेको उल्लेख गर्दै सीले एकको सफलता अर्कोका लागि अवसर भएको र स्थिर द्विपक्षीय सम्बन्धले विश्वले नै लाभ लिन सक्ने धारणा व्यक्त गरे। सीले दुई देशको सम्बन्धमा नयाँ अध्याय थप्न ट्रम्पसँग मिलेर काम गर्न उत्सुक रहेको बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीसँगको भेट आफ्ना लागि ‘सम्मानको विषय’ भएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। विगतमा कठिनाइ आएका बेला पनि आफूहरूले फोन संवादमार्फत समस्याको छिटो समाधान निकालेको स्मरण गरे। ट्रम्पले सीलाई ‘महान् नेता’ को संज्ञा दिँदै आफूले यसपटक विश्वकै उत्कृष्ट व्यापारिक नेतृत्वलाई साथमा लिएर आएको सुनाए।
चिनियाँ सञ्चारमाध्यम सीसीटिभीका अनुसार वार्तामा ट्रम्पका साथ विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर र अर्थमन्त्री स्कट बेसेन्ट सहभागी छन्।
ट्रम्पले चीनसँग अमेरिकी कृषि उपज, विमान र अन्य सामान खरिद गर्ने सम्झौता गरेर आफूले राम्रो डिल ल्याएको प्रमाणित गर्न चाहेको बताएका छन्। यद्यपि, गत वर्ष अमेरिकाले चीनका सामग्रीमा लगाएको थप शुल्क, चीनले सेमिकन्डक्टर उत्पादनमा महत्त्वपूर्ण मानिने दुर्लभ धातु निर्यातमा अमेरिकामाथि गरेको कडाइ, ताइवान मामिलालगायत विषयमा अझै पनि आशंका कमजोर पार्ने कडी रहेको बताइएको छ।
अमेरिकाले इरानमाथिको आक्रमणमा गरेपछि चीनबाट जारी प्रतिक्रियामा खासै ध्यान नदिने र व्यापारिक साझेदारीका लागि ठूलो संख्याका उद्यमी, व्यवसायीसहितको टोली लिएर आफू चीन जान लागेको राष्ट्रपति ट्रम्पले बेइजिङ उड्नुअघि प्रतिक्रिया दिएका थिए।–रासस