काठमाडौं। इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले काठमाडौँस्थित मातातीर्थमा निर्माणाधीन डाटा सेन्टरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूबाट चासो देखाएको बताएको छ। बैंक तथा वित्तीय संस्था, फिनटेक, आइएसपी, ओटीटी प्लेटफर्म, सिडिएन प्रोभाइडर, क्लाउड सर्भिस प्रोभाइडर, इन्टरप्राइज आइटी कम्पनी तथा एआई–सम्बन्धी संस्थाहरू डाटा वर्ल्डसँग सम्पर्कमा रहेको प्रमुख कार्यकारी अधिकृत समित जना थिङले क्यापिटल नेपाललाई बताए।
कम्पनीका अनुसार सो डाटा सेन्टरमा ग्राहकको डेटा सुरक्षित, गोपनीय तथा निरन्तर उपलब्ध रहोस् भन्ने उद्देश्यले बहुस्तरीय सुरक्षा प्रणाली अपनाइएको हो। डेटा सेन्टरको भौतिक सुरक्षाका लागि सुरक्षा अनुगमन, बायोमेट्रिक पहुँच नियन्त्रण, बहुकारक प्रमाणीकरण, निगरानी क्यामेरा, इलेक्ट्रोनिक बार सहितको उच्च सीमा पर्खाल, बुम ब्यारियर तथा प्रतिबन्धित पहुँच क्षेत्रजस्ता सुरक्षा व्यवस्था लागू गरिएको छ।
नेटवर्क तथा साइबर सुरक्षाका लागि फायरवाल, डिडिओएस सुरक्षा, वास्तविक–समय अनुगमन तथा सुरक्षा सञ्चालन केन्द्र सम्बन्धी प्रणालीहरू प्रयोग गरिएको छ। यसका लागि रिडन्डेन्ट युपिएस प्रणाली, रिडन्डेन्ट कुलिङ प्रणाली तथा ब्याकअप जेनेरेटर, डुअल पावर पाथ र मल्टिपल फाइबर कनेक्टिभिटीको व्यवस्था गरिएको छ। जसका माध्यमबाट कुनै प्रणालीमा समस्या आए पनि सेवा निरन्तर सञ्चालनमा रहने सुनिश्चित गर्ने डाटा वर्ल्डले बताएको छ।
सो डाटा सेन्टर काठमाडौँको सबैभन्दा ठूलो विद्युतीय सबस्टेशन नजिक अवस्थित छ र सबस्टेशनका दुईवटा छुट्टाछुट्टै ट्रान्सफर्मरबाट सिधै भूमिगत पावर केबलमार्फत विद्युत् आपूर्ति गरिएको छ। त्यसैगरी चार फरक स्थानबाट अप्टिकल ग्राउन्ड फाइबर डाटा सेन्टरभित्र ल्याइएको छ, जसले उच्च स्तरको नेटवर्क रिडन्डेन्सी तथा कनेक्टिभिटी सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको नेतृत्वमा बनेको सो डाटा सेन्टरले नेपालको डिजिटल पूर्वाधार बलियो बनाउन ठूलो भूमिका खेल्नुका साथै बैंकिङ, सरकार, टेलिकम, क्लाउड, ओटीटी, एआई र उद्यम सेवा नेपालमै सुरक्षित रूपमा सञ्चालन गर्न सकिने भएपछि देशको डिजिटल रूपान्तरण छिटो हुने डाटा वर्ल्डका प्रमुख कार्यकारी अधिकृत थिङले बताए।
अहिले धेरै नेपाली संस्था र स्टार्टअपहरूले आफ्नो एप र डाटा विदेशमा राख्नुपर्ने बाध्यता रहेकाले डाटा वर्ल्ड जस्ता डाटा सेन्टरले क्लाउड सेवा दिँदा उनीहरू नेपालमै सुरक्षित, भरपर्दो र उच्च गतिको इन्टरनेट भएको पूर्वाधार प्रयोग गर्न सक्नेछन्। यसले स्टार्टअप र टेक कम्पनीहरूलाई ठूलो लगानी नगरी आफ्नो डिजिटल सेवा छिट्टै विस्तार गर्न मद्दत गर्छ। साथै, राम्रा स्टार्टअपहरूलाई सस्तो मूल्यमा पूर्वाधार र स्रोत उपलब्ध गराउने योजना रहेको छ। सामग्री र एप प्रयोगकर्ताको नजिक आउँदा इन्टरनेट गति सुधार हुन्छ, विलम्ब कम हुन्छ र प्रयोगकर्ता अनुभवमा पनि रूपान्तरण हुने विश्वास रहेको छ। भविष्यमा ठूला कम्पनीहरू नेपाल आउँदा स्थानीय सेवा प्रणाली अझ मजबुत बन्छ, विदेशी इन्टरनेट प्रयोग घट्छ र फलस्वरूप डाटा सञ्चय खर्च कम भई नेपाली संस्था तथा स्टार्टअपका लागि क्लाउड सेवा सस्तो बन्नेछ।
डाटा वर्ल्डले आधुनिक प्रविधिको प्रयोग गरी वातावरण संरक्षणमा एउटा महत्त्वपूर्ण पाइला चालेको छ। यस डाटा सेन्टरले विश्वविख्यात अन्तर्राष्ट्रिय वातावरणीय प्रमाणपत्रहरू प्राप्त गरिसकेको छ, जसले यसको दिगोपनप्रतिको प्रतिबद्धतालाई पुष्टि गर्दछ। यहाँ मुख्य रूपमा नेपालको स्वच्छ जलविद्युत् प्रयोग गरिन्छ र विद्युत् आपूर्तिको निरन्तरता सुनिश्चित गर्नका लागि यसलाई सबस्टेशनको नजिकै निर्माण गरिएको कम्पनीको भनाइ छ। ऊर्जा बचत गर्न आधुनिक युपिएस र पावर मनिटरिङ प्रणाली जडान गरिएको छ भने भविष्यमा एआईको उच्च लोड व्यवस्थापन गर्न लिक्विड कुलिङ प्रविधि भित्र्याउने अपेक्षा राखिएको छ। वातावरणीय प्रभाव न्यूनीकरणका लागि एयर–कुल्ड चिलर प्रविधि अपनाइएको छ, जसले पानीको खपत कम गर्नुका साथै ऊर्जा खर्चमा २५ प्रतिशतसम्म बचत गर्दछ। ध्वनि प्रदूषण न्यूनीकरणका लागि जेनेरेटरहरूलाई विशेष ध्वनिरोधी कक्षहरूमा राखिएको छ। एआई–जडित स्मार्ट सफ्टवेयरले कुलिङ र तापक्रमको निगरानी गर्ने हुनाले यो डाटा सेन्टर केवल शक्तिशाली मात्र नभई उच्च ऊर्जा–दक्षता र ग्रिन प्रविधिमा आधारित पनि छ।
भूकम्प प्रतिरोधी र सुरक्षित डाटा वर्ल्ड
डाटा वर्ल्डले निर्माण गरेको डेटा सेन्टर राष्ट्रिय भवन संहिता र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भूकम्प–प्रतिरोधी संरचनाको रूपमा निर्माण गरिएको कम्पनीले उल्लेख गरेको छ। महत्त्वपूर्ण डिजिटल पूर्वाधार भएकाले यसलाई सामान्य भवनभन्दा बढी मजबुती तरिकाले बनाइएको हो। भूकम्पका बेला यहाँ जडान गरिएका उपकरणहरूमा कम्पनको असर नपरोस् भन्ने उद्देश्यका साथ सिस्मिक ब्रेसिङ प्रविधि प्रयोग गरिएको छ। यो डाटा सेन्टर विद्युत् सबस्टेशन नजिकै रहेकाले दुईवटा छुट्टाछुट्टै ट्रान्सफर्मरबाट भूमिगत केबलमार्फत विद्युत् आपूर्ति गरिएको छ। साथै, इन्टरनेट सेवा अवरुद्ध नहोस् भनेर चार फरक दिशाबाट फाइबर कनेक्टिभिटी जोडिएको छ। कुनै एक प्रणालीमा समस्या आए पनि ब्याकअप जेनेरेटर र वैकल्पिक कुलिङ प्रणालीले गर्दा सेवामा कुनै अवरोध आउने छैन। आगलागीबाट बच्न अत्याधुनिक फायर डिटेक्सन र ग्यास–आधारित अग्नि नियन्त्रण प्रणाली जडान गरिएको छ। आपत्कालीन अवस्थाका लागि २ लाख ५० हजार लिटर पानीको भण्डारण र विशेष दमकल प्रणालीको व्यवस्था गरिएको छ। काठमाडौँ बाहिरका अन्य डाटा सेन्टरहरूसँग पनि यसलाई अन्तरसम्बन्धित गर्ने काम भइरहेको छ, जसका कारण कुनै एक स्थानमा ठूलो विपद् आए पनि अर्को स्थानबाट सेवा निरन्तर सञ्चालन गर्न सकिनेछ।
करिब ४ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको वर्ल्डलिंकको डाटा सेन्टर काठमाडौँको मातातीर्थमा नेपालकै सबैभन्दा ठूलो पर्पज–बिल्ट डाटा सेन्टर हो। सुरुवाती चरणमा ३.५ मेगावाट क्षमताबाट सञ्चालन हुने यो डाटा सेन्टरलाई भविष्यमा आवश्यकताअनुसार ७ देखि ८ मेगावाटसम्म विस्तार गर्ने कम्पनीको रणनीति रहेको छ। पहिलो चरणमा बैंक, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकका लागि, दोस्रो चरणमा क्लाउड प्लेटफर्मका लागि र तेस्रो चरणमा एआई–सम्बन्धी उच्च क्षमताको पूर्वाधारका लागि उपयोग गरिनेछ। सन् २०१९ देखि सुरु भएको यो परियोजना अब केही समयपछि सञ्चालनमा आउने छ।
नेपालमा डिजिटल रूपान्तरण र डाटा सार्वभौमिकताका लागि निजी क्षेत्रले ठूलो लगानी गरे पनि राज्यले यसलाई अझै औपचारिक रूपमा पहिचान गर्न नसकेको थिङको बुझाइ रहेको छ। डाटा सेन्टरलाई महत्त्वपूर्ण राष्ट्रिय पूर्वाधारको मान्यता दिँदै एकीकृत डिजिटल नेपाल ऐनमार्फत नीतिगत स्पष्टता ल्याउनु आजको प्रमुख आवश्यकता हो। यसका लागि सरकारले डाटा सेन्टरलाई औद्योगिक उपभोक्ताको श्रेणीमा राखेर सस्तो विद्युत् महसुल कायम गर्नुपर्छ र जग्गा तथा पूर्वाधार पहुँचका लागि फास्ट–ट्र्याक प्रणाली लागू गर्नुपर्छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न आवश्यक उपकरण आयातमा भन्सार छुट र कम्तीमा १५ वर्षको कर छुटजस्ता सहुलियत दिनु जरुरी छ। सरकार आफैँ प्रतिस्पर्धामा उत्रिनुको सट्टा निजी क्षेत्रको सेवा प्रयोग गर्ने प्रमुख ग्राहक बन्नुपर्ने उनले बताए। नेपालमा उपलब्ध जलविद्युत् र प्राकृतिक चिसो वातावरणलाई उपयोग गर्दै स्पष्ट नीतिगत ढाँचा तयार गर्ने हो भने नेपाल दक्षिण एसियाकै एआई हब बन्न सक्ने ठूलो सम्भावना रहेको, तर राज्यले दृढ संकल्पका साथ अघि बढ्नुको विकल्प नरहेको उनले बताए।
नेपालमा डिजिटल सेवा, क्लाउड कम्प्युटिङ र एआईको बढ्दो माग सम्बोधन गर्न डाटा वर्ल्डले मातातीर्थ डाटा सेन्टरलाई भविष्यमा ७ देखि ८ मेगावाटसम्म विस्तार गर्ने दीर्घकालीन योजना बनाएको छ। बैंक तथा टेलिकमदेखि लिएर भविष्यको उच्च–क्षमता एआई ट्रेनिङ र लिक्विड कुलिङ प्रविधिसम्म सेवा विस्तार गरिनेछ। प्रयोगकर्ताहरूलाई छिटो सेवा दिन देशका प्रमुख शहरहरूमा क्षेत्रीय एज डाटा सेन्टर नेटवर्कको विस्तार गर्ने योजना पनि रहेको छ। नेपाललाई अन्तर्राष्ट्रिय डिजिटल हब बनाउने लक्ष्यका साथ विश्वका ठूला क्लाउड र एआई कम्पनीहरूसँग सहकार्य अघि बढाइएको छ। साथै, अन्तर्राष्ट्रिय माग दृष्टिगत गरी १०० मेगावाट क्षमताको विशाल एआई डाटा सेन्टर निर्माणका लागि हाल सम्भाव्यता अध्ययन भइरहेको कम्पनीको भनाइ छ।