काठमाडौं । सरकारले यो वर्ष बाढीपहिरो, निरन्तरको वर्षालगायत कारण देशभर ५१ हजारभन्दा बढी घरधुरी प्रभावित हुने आकलन गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३४औं बैठकले स्वीकृत गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस्तो जानकारी समावेश गरिएको छ। यस वर्ष मनसुनजन्य विपद्बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अमृत श्रेष्ठले भने, ‘मौसम पूर्वानुमान र पूर्व कार्यमा लगानी गर्दा प्रतिकार्यमा लगानी घट्ने र विपदपछिको पीडा कम गर्न सकिने भएकाले सरकारले पूर्वानुमान र पूर्वकार्यलाइ प्राथमिकता दिन लागेको हो।’
भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा बसेको बैठकले यस वर्षका लागि तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ।
बैठकले ‘खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३’ परिमार्जनसहित स्वीकृत गरेको छ। यसैगरी ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’ ‘पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३’ ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०८१’ का केही बुँदामा संशोधनसहित स्वीकृत गरेको छ।