भैरहवा। सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा जेठ ९ र १० गते भैरहवामा खाना महोत्सव ‘सिद्धार्थ फुड एण्ड फन’ आयोजना गर्ने भएको छ। भैरहवास्थित सिद्धार्थ भिलासामा आयोजना हुने महोत्सवमा नेपाली रैथाने परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मको स्वाद एउटै थलोमा उपलब्ध गराइने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका सीईओ कृष्ण न्यौपानेले बताए।
महोत्सवमा नेवारी, हिमाली, थारु, मध्यपश्चिम तथा पूर्वी भेगका परम्परागत खानासहित कन्टिनेन्टल, भारतीय, चिनियाँ, अरेबिक तथा मेडिटेरियन परिकारका स्टल रहने छन्। महोत्सवमार्फत नेपाली रैथाने खानाको प्रवद्रर्धनसँगै विभिन्न क्षेत्रका मौलिक स्वादलाई एउटै स्थानमा ल्याउने प्रयास गरिएको बताइएको छ। नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटी ग्रुपअन्तर्गतका विभिन्न आउटलेटमा कार्यरत सेफले आ-आफ्नो भेगका विशेष परिकार प्रस्तुत गर्ने छन्।
महोत्सवमा खाना खाने प्रतियोगिता, घरेलु खाना पकाउने प्रतियोगिता, बालबालिकामुखी खेल, मनोरञ्जनात्मक गतिविधि तथा विभिन्न सहभागितामूलक कार्यक्रम सञ्चालन गरिने छ। खाना पकाउने प्रतियोगितामा इच्छुक सहभागीले सिद्धार्थ भिलासा भैरहवामा सम्पर्क गरी नाम दर्ता गरेर भाग लिन सक्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने छ। महोत्सवको पहिलो दिन जेठ ९ गते गायिका समीक्षा अधिकारी र गायक अर्जुन सापकेटाको प्रस्तुति रहने छ। जेठ १० गते गायक दीपक बज्राचार्य र उनको ब्याण्डले सांगीतिक प्रस्तुति दिने छन्। दुवै दिन लुम्बिनी क्षेत्रका स्थानीय कलाकारले पनि लोक तथा सांस्कृतिक प्रस्तुति दिने छन्।
कार्यक्रम दैनिक दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। आगन्तुकले विभिन्न फुड स्टलमा कुपन प्रणालीमार्फत आफूले चाहेका परिकारको स्वाद लिन सक्ने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटीका क्षेत्रीय कार्यकारी निर्देशक महेन्द्र न्यौपानेले जानकारी दिए।
कार्यक्रमलाई केवल व्यापारिक कार्यक्रमभन्दा पनि सामुदायिक जमघट, नेपालका रैथाने परिकार एवं आन्तरिक पर्यटन प्रवर्द्धन र भैरहवामा आर्थिक गतिविधि चलायमान बनाउने प्रयासका रुपमा अघि सारिएको हो। सिद्धार्थ ग्रुपद्वारा विभिन्न सहरमा वियर फेस्ट, मःमः महोत्सव, फुड फेस्ट जस्ता कार्यक्रममार्फत खाना पर्यटनको प्रवर्द्धन गर्दै आएको जनाएको छ।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरी ३० वटा आउटलेट सञ्चालन गर्दै आएको छ। साथै देशभर करिब २५०० जनालाई रोजगारी पनि दिएको छ। हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्ड एवं सिद्धार्थ कटेज, सिद्धार्थ क्याफे संचालनमा छन्।