काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विकास निर्माण, सुकुमवासी समस्या, महँगी र रोजगारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको दैनिकीमा समस्या भएको उल्लेख गर्दै ती सेन्टरमा राखिएका बालबालिकाको पठनपाठनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्, “गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ, सुकुमवासीलाई सान्त्वना दिन पनि सरकारले सम्बोधन गर्नुपर्छ।”
सांसद शम्भुप्रसाद ढकालले मुलुकका विभिन्न स्थानमा भएका आत्महत्याका घटनामा आत्महत्या गर्न बाध्य बनाउनेमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गरे। सांसद क्षितिज थेबेले पाथीभरा केबुलकार निर्माणको सम्बन्धमा सरकारको आधिकारिक धारणा आउनुपर्नेमा जोड दिए।
उनले भने, “पाथीभरामा निर्माणाधीन परियोजनाको विषयमा ताप्लेजुङ मात्रै होइन सिङ्गो देशको ध्यान केन्द्रित भएको छ, सरकारले मौखिक रुपमा काम रोकिएको भनेको छ, तर, सरकारको आधिकारिक धारणा के हो?, मेरो प्रश्न छ, यो आयोजना बन्ने हो कि रोकिने हो?”
प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानार्कषण गराइन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद घतानीले माइतीघरमण्डलामा दीपा नेपालीले कोठा खाली छ सरकार? भन्दै सत्याग्रह धर्ना बसेको जानकारी गराइन्। “यो केवल कोठाको विषय मात्रै नभई दलित समुदायमाथि वर्षौंदेखि थोपरिँदै आएको निषेध विभेद र बहिष्कारविरुद्ध उठेको समाजको यर्थाथ प्रश्न हो”, उनले भनिन्, “यो राज्यमा दलित समुदायका लागि समान र सम्मानको अवस्था किन अझै छैन भन्ने प्रश्न पनि हो।”
त्यस्तै, निरज विश्वकर्माले जातकै कारण ४० पटकसम्म डेरा फेर्न बाध्य भएको पनि सुनाए। दलित समुदायका शिक्षित वर्गले समेत जातकै कारण विभेद भोग्नुपरेको पीडा यर्थाथ रहेको उनले बताए। संसद्मा सांसद घतानीले दलित समुदायको डेरा, शिक्षा, रोजगार, सार्वजनिक जीवनमा हुने विभेदको व्यवहारिक रुपमा अन्त्य गर्न सरकारले ध्यान दिनुपर्ने बताए। उनले दलितको मुद्दा मानवसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ को विषय भएकाले मानवअधिकारको संरक्षण गर्न सरकारलाई अनुरोध गरे।