काठमाडौं। काठमाडौंको बौद्धस्थित पाँचतारे होटल ‘ह्यात रिजेन्सी’ को प्रवर्द्धक कम्पनी तारागाउँ रिजेन्सी होटल्सले डेढ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले गत वर्षमा कुल १ अर्ब ५२ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
कम्पनीले आव २०२४ मा १ अर्ब ४९ करोड ५० लाख र आव २०२३ मा १ अर्ब ३४ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। होटलको व्यापारिक ग्राफ विगत तीन वर्षदेखि सुधारोन्मुख देखिए पनि पछिल्लो समय केही शिथिलता आएको छ।
सन् २०२५ सेप्टेम्बरमा भएको जेनजी आन्दोलन र विरोध प्रदर्शनका कारण होटल केही समय बन्द गर्नुपर्दा चालू आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा कम्पनीको व्यापार खुम्चिएर मात्र १७ करोड २० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको तुलनामा यो ठूलो गिरावट हो।
आव २०२५ मा होटलको कोठाको औसत दर १२ हजार ३२५ रुपैयाँ थियो भने कोठा ओगटेको दर ५९.२० प्रतिशत रहेको थियो। सन् १९९० मा स्थापित यो कम्पनीले सञ्चालन गरेको ५ तारे होटलको स्तरोन्नति र जीर्णोद्धारका लागि २ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएको छ। केयर रेटिङ नेपालले कम्पनीले लिन लागेको २ अर्ब रुपैयाँको दीर्घकालीन बैंक कर्जाका लागि ‘ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ।
केयर रेटिङका अनुसार ट्रिपल बी रेटिङ प्राप्त गर्ने कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने सन्दर्भमा ‘मध्यम स्तरको सुरक्षा’ रहेको मानिन्छ। यस्तो रेटिङले बैंकले प्रवाह गर्ने ऋणमा मध्यमस्तरको कर्जा जोखिम रहेको संकेत गर्छ। होटलको बलियो प्रवद्र्धक समूह, अन्तर्राष्ट्रिय ब्रान्ड ‘ह्यात’ सँगको आबद्धता र हालसम्मको न्यून ऋण भारका कारण यो रेटिङ दिइएको रिपोर्टमा उल्लेख छ।
होटलले हालको भौतिक संरचनालाई स्तरोन्नति र मर्मत गर्न कुल ३ अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ। यसमा २ अर्ब रुपैयाँ (६७ प्रतिशत) बैंक ऋणबाट र बाँकी १ अर्ब रुपैयाँ (३३ प्रतिशत) होटलको आफ्नै आन्तरिक कोष (निक्षेप) बाट बेहोरिनेछ।
हालसम्म कम्पनीमा बाह्य ऋणको भार निकै कम छ। आर्थिक वर्ष २०२५ सम्मको तथ्यांकअनुसार कम्पनीको कुल ऋण र पुँजीको अनुपातमात्र ०.०२ गुणा छ, जुन अत्यन्तै सबल अवस्था हो। तर, २ अर्बको नयाँ ऋण थपिएपछि कम्पनीको पुँजीगत संरचना र तरलतामा केही दबाब पर्न सक्ने प्रतिवेदनले औंल्याएको छ।
तारागाउँ रिजेन्सीले हालसम्म बैंकको ब्याजमा न्यून खर्च गर्दै आएको छ। आव २०२५ मा यसको ब्याज कभरेज अनुपात ११९ गुणा रहेको थियो, जसको अर्थ होटल ब्याज तिर्न निकै सक्षम छ। तर, नयाँ ऋण लिएपछि र होटल मर्मतका लागि बन्द हुँदा यसको वित्तीय सूचकमा कस्तो असर पर्छ भन्ने कुरा नै बैंकको लगानी सुरक्षाको मुख्य कडी हुने प्रतिवेदनमा उल्लेख छ।
होटलको नेतृत्वमा ‘सराफ ग्रुप’ र ‘श्रेष्ठ ग्रुप’ रहेका छन्। बोर्ड अध्यक्ष अरुण कुमार सराफसँग आतिथ्य क्षेत्रमा ५ दशकभन्दा लामो अनुभव छ। सराफ ग्रुपको भारतका ठूला होटलमा समेत लगानी छ। अन्तर्राष्ट्रिय ब्रान्ड ह्यातसँगको व्यवस्थापन सम्झौताका कारण होटलले मार्केटिङ र सञ्चालनमा ठूलो लाभ पाइरहेको छ।
स्तरोन्नतिपछि होटलको कोठा संख्या २९१ पुग्ने र सन् २०२८ सम्म १३ वटा नयाँ भिल्लाहरू सञ्चालनमा आउने योजना बनाइएको छ। यसले भविष्यमा होटलको आम्दानी र लगानी प्रतिफल बढाउने बलियो सम्भावना रहेको केयर रेटिङको रिपोर्टमा उल्लेख छ।
होटलसामु केही गम्भीर चुनौती पनि छन्। पहिलो, स्तरोन्नतिका लागि होटल केही समय बन्द गर्दा आम्दानी ठप्प हुने र निर्माण कार्यमा ढिलाइ भएमा लागत बढ्ने जोखिम छ। दोस्रो, कम्पनीको आम्दानी एउटै होटल सम्पत्तिमा मात्र निर्भर छ।
तेस्रो, पर्यटन क्षेत्र निकै संवेदनशील हुने भएकाले मध्यपूर्व तनाव र हवाई इन्धनको मूल्यवृद्धिले पर्यटक आगमनमा पार्ने असर बैंकका लागि जोखिमका पाटो हुन्। त्यस्तै, बैंकको ब्याजदरमा हुने उतारचढावले पनि होटलको नाफा मार्जिनलाई प्रभावित पार्न सक्छ।