काठमाडौं। नेपाल पर्यटन बोर्डले छोटो गन्तव्य केन्द्रित दृश्यात्मक भिडियो सामग्रीमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सशक्त बनाउने उद्देश्यले टिकटक तथा डोउयिन प्लेटफर्ममार्फत विशेष डिजिटल प्रवर्द्धन अभियान सञ्चालन गरेको छ।
उक्त अभियानअन्तर्गत बोर्डले हालसम्म लाङटाङ ट्रेक, गोसाइँकुण्ड, बन्दीपुर, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया लगायत नेपालका विभिन्न पर्यटन गन्तव्य तथा अनुभवसम्बन्धी प्रवर्द्धनात्मक भिडियो सामग्री सार्वजनिक गरिएको छ। साथै अन्य सामग्रीहरू निर्माणको क्रममा रहेका छन्।
अभियानअन्तर्गत कुल २५ वटा लक्षित प्रवर्द्धनात्मक भिडियो सामग्री निर्माण तथा प्रसारण गर्ने योजना रहेको छ। चिनियाँ बजारलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले चीनस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा टिकटकको चिनियाँ संस्करण डोउयिनमार्फत पनि विशेष प्रवर्द्धन अभियान सुरु गरेको छ।
उक्त अभियानअन्तर्गत चिनियाँ दर्शक तथा पर्यटकलाई लक्षित गरी चिनियाँ भाषा, श्रव्य दृश्य डिजिटल सामग्रीहरू निर्माण तथा प्रसारण गरिँदै छ।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री हिकमतसिंह ऐयरले डिजिटल प्लेटफर्म विश्वव्यापी पर्यटन प्रवर्द्धनका लागि विशेषतः युवा तथा अनुभवमुखी यात्रुहरूमाझ अत्यन्त प्रभावकारी माध्यमका रूपमा स्थापित भइरहेको बताए।
टिकटक तथा डोउयिनजस्ता प्लेटफर्ममार्फत गरिने डिजिटल अभियानले नेपाललाई विश्वव्यापी दर्शकमाझ अझ प्रभावकारी, सहज तथा आकर्षक ढंगले प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।
नेपाल पर्यटन बोर्ड अन्तर्राष्ट्रिय प्राथमिकताप्राप्त बजारमा नेपालको विविध पर्यटन अनुभवहरूको प्रवर्द्धनका लागि नवीन डिजिटल माध्यमहरूको उपयोगप्रति प्रतिबद्ध छ।
नेपाल पर्यटन बोर्डले यस्ता अभियानले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन दृश्यता अभिवृद्धि गर्नुका साथै डिजिटल माध्यमसँग आबद्ध विश्वभरका यात्रुहरूमाझ नेपालप्रति आकर्षण तथा गन्तव्य चेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ।
साथै, बोर्ड पर्यटन व्यवसायी, पर्यटनसम्बद्ध संघसंस्था, सञ्चारमाध्यम, कन्टेन्ट क्रियटर तथा आम सर्वसाधारणलाई आ-आफ्नो सञ्जाल तथा प्लेटफर्ममार्फत अभियानसम्बन्धी सामग्रीहरूको प्रवर्द्धन, साझेदारी तथा प्रसारमा सक्रिय सहयोग गरिदिन अनुरोध गर्दछ।