काठमाडौं। चार वर्षदेखि नियमित उडान सञ्चालन गर्दै आएको मुस्ताङ हेलिकोप्टर प्रा.लि.बाट संस्थापक सञ्चालक रोणन लामिछाने औपचारिक रूपमा बाहिरिएका छन्। कम्पनी रजिष्ट्रारकाे कार्यालयका विवरणअनुसार अहिले सम्पूर्ण स्वामित्व विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ' र उनीसँग सम्बद्ध संस्थाहरूको नाममा रहेको देखिएकाे छ।
२०८३ साल वैशाख ७ गते जारी सेयरधनीको दर्ता किताबमा प्रतिसेयर मूल्य १०० कायम रहेको छ। उक्त दर्ता किताबमा अध्यक्ष निर्मल पुर्जाको हस्ताक्षर र मुस्ताङ हेलिकोप्टरको कम्पनी छापसमेत अंकित छ।
विवरणअनुसार निर्मल पुर्जासँग सम्बद्ध तीन कम्पनीको सम्पूर्ण सेयर स्वामित्व छ। पुर्जाकी परिवारकी सदस्य जानकी पुजा पुनको नाममा विभिन्न किस्तामा ११ लाख ८४ हजार ३२० सेयर अर्थात् ११ करोड ८४ लाख ३२ हजार बराबरको स्वामित्व रहेको छ। त्यसैगरी लन्डनमा दर्ता निम्स दाइ लिमिटेडको नाममा ३ लाख ५२ हजार सेयर अर्थात् ३ करोड ५२ लाख र काठमाडौंमा दर्ता माेङ्क हाेल्डिङको नाममा २० लाख ७४ हजार ५ सय सेयर अर्थात् ८ करोड ३२ लाख ३८ हजार बराबरको स्वामित्व रहेको देखाउँछ। यसबाहेक पाल्पाका विशाल गौतमको नाममा पनि २ लाख १४ हजार सेयर दर्ता भएको छ। यसरी कम्पनीको कुल सेयर संख्या २३ लाख ७ हजार ४५० रहेको र कुल भुक्तानी रकम २३ करोड ७४ लाख ५० हजार पुगेको छ।
२०८१ वैशाखमा ५० प्रतिशत सेयर लिएर मुस्ताङमा प्रवेश गरेका पुर्जाले त्यसपछि क्रमशः लामिछानेको नाममा रहेको सबै सेयर खरिद गरेको पुष्टि भएको छ। यद्यपि, केही जग्गाहरू धितोमा राखिएको र ती जग्गाहरूको फुकुवाको काम पूरा हुन बाँकी रहेकाले अधिकारिक जानकारी अहिलेसम्म सार्वजनिक गरिएको थिएन।
स्थापना कालदेखि नै ठूलो आर्थिक संकट झेल्दै आएको यस कम्पनीमा व्यापार अपेक्षाअनुसार विस्तार हुन नसकेपछि अन्ततः पुर्जाले नै सम्पूर्ण स्वामित्व आफ्नो हातमा लिएको बुझिएको छ।
सेयर बिक्रीबारे लामिछानेले आफू मुस्ताङबाट बाहिरिएको पुष्टि गरे पनि प्राविधिक विषयहरू मिलाउन केही काम बाँकी रहेको बताए। खरिद बिक्रीको रकम उनले सार्वजनिक गर्न चाहेनन्। निर्मल पुर्जाले पनि सम्पूर्ण सेयर स्वामित्व आफ्नो नाममा ल्याइसकेको र कम्पनी रजिस्ट्रारमा जानकारी बुझाइसकेको जनाए। तर खरिद रकमबारे उनले पनि मौनता अपनाए।
मुस्ताङ हेलिकोप्टर प्रा.लि.लाई सन् २०१९ मै सञ्चालन अनुमति दिइएको थियो। कम्पनीले पाँच वर्षभित्र पाँच वटा हेलिकोप्टरमार्फत व्यावसायिक उडान गर्ने महत्त्वाकांक्षी घोषणा पनि गरेको थियो। तर कोभिड १९ महामारीले गर्दा सन् २०२२ देखि मात्र सञ्चालनमा आउन सकेको थियो। २०७५ वैशाखमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स प्राप्त यस कम्पनीसँग हाल दुई वटा हेलिकोप्टर रहे पनि एउटा मात्र एस ३५० बी ३ हेलिकोप्टर सञ्चालनमा छ।
स्थापना कालदेखि नै ठूलो आर्थिक संकट झेल्दै आएको यस कम्पनीमा व्यापार अपेक्षाअनुसार विस्तार हुन नसकेपछि अन्ततः पुर्जाले नै सम्पूर्ण स्वामित्व आफ्नो हातमा लिएको बुझिएको छ। विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमशिखर आरोहण गरी कीर्तिमान कायम गरेका निर्मल पुर्जाको नेपालको हवाई क्षेत्रमा यो लगानी उनको व्यावसायिक विस्तारको महत्त्वपूर्ण अध्याय मानिन्छ।