काठमाडौं। ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर (आईआरजीसी)ले आफ्नो नौसैनिक समन्वयमा पछिल्लो २४ घण्टाभित्र तेल ट्यांकर, कन्टेनर जहाज तथा अन्य व्यावसायिक पोतसहित ३५ वटा जहाजले अनुमति लिएर होर्मुज जलडमरूमध्य पार गरेको दाबी गरेको छ।
बीबीसी पर्शियनका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आईआरजीसी नौसेनाले समुद्री आवागमन र विश्वव्यापी व्यापार निरन्तर सञ्चालन हुन सुरक्षित जलमार्ग सुनिश्चित गरेको छ।”
यसअघि इस्लामिक गणतन्त्र ईरानद्वारा स्थापित ‘पर्शियन गल्फ वाटरवे म्यानेजमेन्ट अथोरिटी’ ले एक नक्सा सार्वजनिक गर्दै “होर्मुज जलडमरूमध्य व्यवस्थापन निगरानी क्षेत्र” घोषणा गरेको थियो।
घोषणाअनुसार उक्त क्षेत्र जलडमरूमध्यको पूर्वमा ईरानको माउन्ट मुबारक र संयुक्त अरब इमिरेट्स (यूएई)को दक्षिणी फुजैरालाई जोड्ने रेखादेखि पश्चिममा ईरानको क़ेश्म द्वीपको अन्तिम बिन्दु र यूएईको उम्म अल क्वैनलाई जोड्ने रेखासम्म निर्धारण गरिएको छ।
उता, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ईरानले होर्मुज जलडमरूमध्यमा शुल्क (टोल) लागू गरे अमेरिका र ईरानबीच कूटनीतिक समझदारी सम्भव नहुने बताएका छन्।
बीबीसी उर्दूका अनुसार पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विश्वका कुनै पनि मुलुक यस्तो व्यवस्थाको पक्षमा नरहेको र यो अस्वीकार्य हुने बताएका हुन्।
रायटर्सका अनुसार अमेरिकी विदेशमन्त्री रुबियोले भने, “यदि ईरान यही मार्गमा अघि बढिरह्यो भने यसले अमेरिका–ईरान समझदारीलाई मात्र कठिन बनाउने छैन। यो विश्वव्यापी खतरा पनि बन्न सक्छ र पूर्ण रूपमा गैरकानुनी हुनेछ।”