काठमाडौं। भारतमा शनिबारसहित यो साता तीनपटक इन्धन मूल्य बढाइएको छ। खाडी मुलुकको इन्धनमा निर्भर भारतले अमेरिका–इरान युद्धपछि सप्लाइ चेनमा आएको अवरोधका कारण पेट्रोलियप पदार्थको मूल्य बढाएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।
भारतले होर्मुज समुद्री मार्ग हुँदै खाडी मुलुकबाट ठूलो मात्रामा एलपीजी ग्याससहित ठूलो परिमाणमा इन्धन आयात गर्दै आएको छ। युद्धका कारण होर्मुजमा अवरोध भएपछि भारतभर इन्धन अभाव चुलिएको छ। सुरुमा मे १५ मा पेट्रोल र डिजेलको मूल्य पहिलोपटक प्रतिलिटर ३ भारुले बढाइएको थियो। त्यसपछि मे १९ मा दोस्रोपटक लगभग ९० पैसाले बढाइएको थियो।
आजदेखि लागू हुने गरी पुनः तेस्रोपटक पेट्रोल र डिजेलको मूल्य बढेको हो। पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल ९१ पैसाले महँगो भएको हो। अब दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर प्रतिलिटर ९९.५१ भारु पुगेको छ भने डिजेलको मूल्य ९१ पैसाले बढेर प्रतिलिटर ९२.४९ भारु पुगेको छ।
विश्वको सबभन्दा धेरै जनसंख्या भएको भारतमा पेट्रोलियम अभावले जनजीवन ठप्प हुने अवस्था छ। तर, सरकारले अझै पनि इन्धन अभावको समस्यालाई सामान्य बताउँदै आएको छ। बरु प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नागरिकलाई ईभी गाडी चढ्न, विदेश नघुम्न र सुन नकिनेर डलर बचाउन आग्रह गर्दै आएका छन्।
भारतमा डिजेल करिब ३५ करोड लिटर प्रतिदिन र पेट्रोल करिब १८ करोड लिटर खपत हुने गरेको छ। तर, इरान युद्धका कारण वितरण प्रणालीमा अवरोध उत्पन्न भएपछि अहिले कति इन्धन खपत भइरहेको छ भन्नेबारे सरकारले यकिन डाटा बाहिर सार्वजनिक गरेको छैन।
भारतमा अहिले करिब १ लाख २६ हजार बढी पेट्रोल तथा डिजेल पम्पहरु छन्। यीमध्ये इन्धन अभावमा धेरै पम्प अस्थायी रुपमा मात्र सञ्चालनमा छन् भने हजारौं पम्प बन्द भएका छन्।
इन्डिया टुडेका अनुसार राजस्थानका ४३६४ पेट्रोल पम्पमध्ये १५०० पम्प मात्रै सञ्चालनमा छन्। इन्धन नपाएपछि किसान आन्दोलित बनेका छन् भने महाराष्ट्रदेखि दिल्लीसम्मको अवस्था उस्तै छ।–एजेन्सी