काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले इरानसँगको सम्झौता “धेरै हदसम्म तय भइसकेको” बताएका छन्। उनले यसको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने पनि बताएका हुन्।
शनिबार उनले उक्त सम्झौतामा होर्मुज स्ट्रेट पुनः खुला गर्ने विषय पनि समावेश रहेको बताए। तर यसबारे उनले थप विस्तृत जानकारी दिएका छैनन्। यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै पछिल्लो एक सातामा अमेरिका र इरानको धारणा केही नरम बनेको बताएका थिए। तर उनले मुख्य विषयमा अझै सहमति नभएको चेतावनी पनि दिएका छन्। उनले अमेरिकामाथि “विरोधाभासी अभिव्यक्ति” दिएको आरोप समेत लगाए।
सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार तथा अन्य देशका नेताहरूसँग “शान्तिसम्बन्धी सहमति पत्र”का विषयमा सकारात्मक छलफल भएको बताएका छन्। ट्रम्पले लेखेका छन्, “अमेरिका, इरान तथा सम्बन्धित अन्य देशहरूबीचको सम्झौतासम्बन्धी वार्ता धेरै हदसम्म सम्पन्न भइसकेको छ। अब यसलाई अन्तिम रूप दिन मात्र बाँकी छ।”
उनले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन संवाद भएको र त्यो “अत्यन्त राम्रो” भएको पनि बताएका छन्। यद्यपि ट्रम्पले सम्झौताबारे थप विवरण खुलाएका छैनन्। तर उनले कुनै पनि सम्झौताले इरानलाई परमाणु हतियार प्राप्त गर्न “पूर्ण रूपमा रोक्ने” दाबी गरेका छन्।
सम्झौताबारे इरानको धारणा
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण गरेका थिए, जसपछि मध्यपूर्व क्षेत्रमा तनाव चुलिएको थियो। जवाफस्वरूप इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकाका सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो। अप्रिलको सुरुवातमा इरानमा युद्धविरामका लागि सहमति भएको थियो। त्यसपछि अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता जारी छ।
इरानी प्रवक्ता बकाईले शनिबार “सहमति पत्र” को उल्लेख गर्दै इरानले १४ बुँदे प्रारूपका आधारमा सम्झौता गर्न चाहेको बताएका छन्। उनले आगामी ३० देखि ६० दिनभित्र थप वार्ता गरी अन्ततः अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले उक्त प्रारूपलाई अन्तिम रूप दिइँदै गरेको जानकारी दिएका छन्। यो प्रगति वाशिङ्टनमा वातावरण केही तनावपूर्ण देखिएको समयमा भएको हो।
शुक्रबार अमेरिकी अधिकारीहरूले प्रशासन इरानमाथि नयाँ सैन्य आक्रमणको तयारीमा रहेको जानकारी सञ्चारमाध्यमलाई दिएका थिए। यद्यपि अन्तिम निर्णय भने भइसकेको थिएन। शुक्रबार ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै यस महत्त्वपूर्ण समयमा आफू वाशिङ्टनमै रहने र आफ्ना छोरा डोनाल्ड जुनियरको विवाह समारोहमा सहभागी नहुने बताएका थिए।
होर्मुज जलडमरूमध्यको अवस्था
गत साता ट्रम्पले युद्धविराम “अत्यन्त कमजोर अवस्थामा” रहेको बताएका थिए। उनले इरानका मागहरूलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै खारेज गरेका थिए। अप्रिल १३ देखि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरिरहेको छ। शनिबार अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले नाकाबन्दी सुरु भएयता १०० जहाजको मार्ग परिवर्तन गरिएको, चार जहाज निष्क्रिय बनाइएको तथा मानवीय सहायता बोकेका २६ जहाजलाई आवतजावतको अनुमति दिइएको जनाएको छ।
सेन्ट्रल कमाण्डका प्रमुख एडमिरल ब्राड कूपरले उक्त कारबाही अत्यन्त प्रभावकारी भएको र त्यसले इरानी बन्दरगाहमार्फत हुने अधिकांश व्यापार ठप्प पारेको दाबी गरेका छन्। यसबाट इरानमाथि आर्थिक दबाब बढेको बताइएको छ।
यसैबीच, इरानले होर्मुज स्ट्रेट वरपरको क्षेत्रमा सैन्य नियन्त्रण कायम गरेको दाबी गरेको छ। इरानका अनुसार त्यस मार्ग हुँदै आवतजावत गर्ने सबै जहाजहरूले “पर्शियन गल्फ स्ट्रेट अथोरिटी” बाट अनुमति लिनुपर्नेछ। तर अमेरिका र उसका खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूले इरानको उक्त दाबी पटक–पटक अस्वीकार गरेका छन्। अमेरिकाले जहाजहरूलाई इरानका ती नियमहरूको पालना नगर्न निर्देशन दिएको छ।