काठमाडौं। व्यावसायिक घराना केडिया अर्गनाइजेसनले स्वामित्व ग्रहण गरेपछि बतास हायर पर्चेजको आम्दानीमा उल्लेख्य सुधार देखिएको छ।
केडिया अर्गनाइजेसनले सन् २०२५ को मार्च (अर्थात् २०८१ सालको फागुन/चैत तिर) बतास ग्रुपबाट यस कम्पनीको पूर्ण स्वामित्व खरिद गरेका थियो। यो कम्पनी स्थापना सन् २००३ मा बतास ग्रुपका प्रवर्द्धकले गरेका थिए। स्थापनाकालदेखि सन् २०२५ मार्चसम्म यसको व्यवस्थापन र स्वामित्व बतास ग्रुपसँगै थियो। सोही कारण कम्पनीको नाममा अझै पनि बतास झुन्डिएको छ, जसलाई हटाउने प्रक्रिया बाँकी रहेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको अध्यक्षमा सानुकाजी तामोट र प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) राजेन्द्रप्रसाद तिम्सिना छन्। केडिया अर्गनाइजेसनले स्वामित्व लिएपछि कम्पनीले आफ्नो लगानी गर्ने क्षेत्र ठूलो परिवर्तन गरेको छ। पहिले बतास ग्रुपको समयमा ठूला मेसिनरी र टिपरजस्ता व्यावसायिक सवारी साधनमा बढी लगानी हुने गरेकामा केडियाले अहिले मोबाइल फोन र व्यक्तिगत कारको फाइनान्सिङमा कम्पनीलाई केन्द्रित गराएको छ।
यही रणनीतिक परिवर्तनका कारण कम्पनीको नाफा र रेटिङमा सुधार देखिएको छ। बतास ग्रुपबाट केडिया अर्गनाइजेसनले यो कम्पनी अक्वायर गरेपछि अपनाएको नयाँ व्यावसायिक रणनीति (मोडालिटी)का कारण कम्पनीको व्यापार र साख (रेटिङ) दुवैमा सकारात्मक प्रभाव परेको छ।
केडिया अर्गनाइजेसनले अक्वायर गर्नुअघि बतास ग्रुपको नेतृत्वमा रहँदा आर्थिक वर्ष २०२४ र २०२५ मा कम्पनीको कर्जा पोर्टफोलियो लगातार घटिरहेको थियो। तर, नयाँ व्यवस्थापन आएपछि चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा कम्पनीले १६ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ। यो अवधिमा कम्पनीको कर्जा लगानीमा वार्षिक २७ प्रतिशतको वृद्धि देखिएको छ, जुन अघिल्लो व्यवस्थापनको समयमा ऋणात्मक रहेको थियो।
केडिया ग्रुपले कम्पनीलाई जोखिमयुक्त ठूला मेसिनरी र व्यावसायिक सवारी साधनबाट हटाएर साना आकारका कर्जामा केन्द्रित गरेको छ। नयाँ मोडालिटीअनुसार कम्पनीले मोबाइल फोन र प्यासेन्जर कार फाइनान्सिङमा जोड दिएको छ। अप्रिल २०२६ सम्मको तथ्यांकअनुसार कम्पनीको कुल लगानीमध्ये ३० प्रतिशत हिस्सा मोबाइल फोन र अन्य विद्युतीय उपकरणले ओगटेको छ।
त्यस्तै, प्यासेन्जर कारको हिस्सा पनि ३० प्रतिशत पुगेको छ। यसअघि ८४ प्रतिशत रहेको जोखिमयुक्त मानिएका ठूला मेसिनरीको हिस्सा अहिले घटेर ३८ प्रतिशतमा सीमित भएको छ।
व्यावसायिक विविधीकरण र केडिया ग्रुप जस्तो बलियो प्रवर्द्धकको साथका कारण इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋणको रेटिङमा सुधार गरेको छ। कम्पनीको २ अर्ब ७६ करोड १० लाख रुपैयाँको दीर्घकालीन ऋणका लागि यसअघिको एनसी प्लस रेटिङलाई बढाएर एलबी प्लस कायम गरिएको छ।
त्यस्तै, ३ करोड ९० लाखको अल्पकालीन ऋणलाई एफोर रेटिङ दिएको छ। यी रेटिङको अर्थ कम्पनीको ऋण भुक्तानी क्षमतामा मध्यम जोखिम रहेको र वित्तीय अवस्था सुधारोन्मुख छ भन्ने बुझिन्छ।
विगतका तीन आर्थिक वर्ष लगातार घाटामा रहेको यो कम्पनी केडिया ग्रुपको व्यवस्थापनमा आएपछि पहिलो ९ महिनामै नाफामा गएको छ। मोबाइल फाइनान्सिङमा पाइने कमिसन र घटेको ब्याजदरका कारण कम्पनीको खुद ब्याज मार्जिन ९.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४.२ प्रतिशत मात्र थियो। कम्पनीको नेटवर्थ २८ करोड ३० लाख रुपैयाँ पुगेको छ भने कुल व्यवस्थापन गरिएको सम्पत्ति १ अर्ब ८५ करोड ६० लाख रुपैयाँ छ।
कम्पनीले कुल २ अर्ब ८० करोड रुपैयाँ बराबरको बैंक ऋण सुविधाका लागि रेटिङ गराएको छ। हालसम्म कम्पनीले करिब १ अर्ब ५५ करोड ७० लाख रुपैयाँ बराबरको कर्जा पोर्टफोलियो सञ्चालन गरिरहेको छ। प्रवद्र्धक परिवर्तन भएपछि कम्पनीको पुँजी र ऋणको अनुपात ४.१ गुणा रहेको छ, जुन नियामक सीमा (१० गुणा) भन्दा निकै कम हो। यसले कम्पनीलाई आगामी दिनमा थप ऋण लिएर व्यापार विस्तार गर्ने पर्याप्त ठाउँ दिएको छ।
रिपोर्टअनुसार कम्पनीको मुख्य सबल पक्ष केडिया अर्गनाइजेसनको वित्तीय सपोर्ट र अनुभव हो। मोबाइल र कार जस्ता साना कर्जामा लगानी गर्दा जोखिम कम हुने र छिटो असुली हुने हुँदा कम्पनीले यो क्षेत्रमा राम्रो अवसर देखेको छ। यद्यपि, अघिल्लो व्यवस्थापनको पालामा लगानी भएको ठूला सवारी साधनको खराब कर्जा (एनपिएल) अझै १६.९ प्रतिशत छ। ९० दिनभन्दा बढीको बक्यौता २८.९ प्रतिशत रहनु र देशको समग्र आर्थिक सुस्तताले गर्दा कर्जा असुलीमा दबाब कायमै छ।