काठमाडौं। आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १ अर्ब २७ करोडको सिलिङ दिएको छ। सोही सिलिङ भित्र रहेर पर्यटनले आफ्नो कार्यक्रमहरू राखेर बजेट माग्नुपर्ने हुन्छ। तर, देशभरिबाट विभिन्न शीर्षकमा भएको माग अनुसार भनेर ३८ अर्ब भन्दा बढीको डिमाण्ड आएको छ।
पर्यटन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले मन्दिर, गुम्बा, पर्यटन मार्गदेखि हिलस्टेशन निर्माणको लागी ३८ अर्बभन्दा बढी बजेटको माग भएर आएको जानकारी दिए। ‘वडादेखि जिल्ला हुँदै आएको बजेटको माग ३८ अर्बभन्दा बढीको रहेको छ,’ प्रवक्ता आचार्यले भने ‘हामीले काँटछाट गर्दा ६ अर्बसम्मको माग गरेर पठाएका छौं।’
पर्यटन क्षेत्रको पूर्वाधार विकासमा विशेष जोड दिएर बजेट केन्द्रित हुने गरी माग गरेर पठाएको उनले बताए। सरकारको प्राथमिकतालाई ध्यानमा राखेर अहिले ग्रेटहिमालयन ट्रेल, चुनावी प्रचारको बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले फोटो खिचाएको बडिमालिका देखि पूर्वको पाथीभरा क्षेत्रमा जाने पदयात्राका लागि बजेट माग गरिएको जनाएको छ।
यस्तै पर्यटन मन्त्रालयले आफ्नो सिग्नेचर प्रोग्रामको रूपमा एक धार्मिक स्थलबाट अर्को धार्मिक स्थलसम्म जोड्ने (कल्चर सर्किट) निर्माणका लागि बजेट मागेको छ। लुम्बिनीदेखि मुक्तिनाथसम्म जोड्ने धार्मिक ट्रेललाई विशेष प्राथमिकता दिइएको छ।
योसँगै सातवटै प्रदेशमा एक/एक वटा हिलस्टेशन बनाउने गरी बजेट विनियोजनका लागि माग गरिएको जनाएको छ। पछिल्लो समय भारतीयहरू धेरै मात्रामा नेपालमा गर्मी छल्न आउनेहरूको संख्या बढिरहेको बेला पर्यटन मन्त्रालयले त्यसलाई आत्मासाथ गरेको हो। योसँगै अहिले जाडो मौसममा समेत घाम ताप्नकै लागि पूर्वी नेपालमा धेरै भारतीयहरू परिवारसहित नेपाल आउने गरेका छन्।
कतिपय बजेटहरू विगतका कार्यक्रमहरूको निरन्तरताको लागि मागिएको उल्लेख छ। ग्रेट हिमालयका कुराहरूदेखि हिमाली क्षेत्रमा आवश्यक पदमार्ग निर्माण समेत बजेट केन्द्रित गरी माग गरिएको जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।
सगरमाथा, पशुपति, लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा, खप्तड लगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्य स्थलहरूमा पूर्वाधार विकास गर्ने र लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्न बृहत् लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लैजाने गरी बजेट विनियोजन भएको थियो।