काठमाडौं। नेपालको पेय पदार्थ बजारमा उल्लेख्य प्रभाव जमाउँदै गएको सिङ्गापुर वेभरेज नेपालले एक वषैमै पौने एक अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा ७८ करोड २० लाख रुपैयाँ बराबरको कुल व्यापार गरेको हो।
अघिल्लो आर्थिक वर्ष २०२३/२४ मा ६४ करोड २० लाख रुपैयाँको कारोबार गरेको यो कम्पनीले एक वर्षमा करिब २२ प्रतिशतको व्यावसायिक वृद्धि हासिल गरेको हो। कम्पनीले चालु वर्षको साढे ८ महिनामा भने ४६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।
कम्पनीले आफ्नो उत्पादन क्षमता विस्तार र चालुपुँजी व्यवस्थापनका लागि बैंकहरूबाट उपयोग गर्ने कुल ८० करोड ४ लाख रुपैयाँ बराबरको कर्जा सीमाका लागि इन्फोमेरिक्सले ‘बीबी प्लस’ र ‘ए फोर प्लस’ रेटिङलाई पुनः पुष्टि गरेको छ। यो रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको र वित्तीय दायित्वहरू पूरा गर्ने सन्दर्भमा आधारहरू सन्तोषजनक रहेको संकेत गर्दछ।
कम्पनीको नाफाको मार्जिनमा केही दबाब देखिएको छ। बिक्री र वितरण खर्चमा भएको वृद्धिका कारण सञ्चालन नाफाको मार्जिन अघिल्लो वर्षको १४.३४ प्रतिशतबाट घटेर १०.५७ प्रतिशतमा झरेको छ। कम्पनीको ब्याज तिर्न सक्ने क्षमता बुझाउने ‘इन्ट्रेस्ट कभरेज रेसियो’ २.९२ गुणा रहेको छ, जसले कम्पनी आफ्नो नाफाबाट बैंकको ब्याज भुक्तानी गर्न सक्षम रहेको देखाउँछ। त्यस्तै, ऋण र पुँजीको सन्तुलन बुझाउने ‘ओभरअल गेयरिङ’ अनुपात १.२८ गुणा छ। यद्यपि, चालू आर्थिक वर्षको ८ महिनामा क्षमता विस्तारका लागि थप ऋण लिएका कारण यो अनुपात १.८७ गुणा पुगेको छ। कम्पनीको ऋण सेवा कभरेज अनुपात १.३७ गुणा रहेको छ, जसले नगद प्रवाहको अवस्था औसत रहेको बुझाउँछ।
झापाको मेचीनगरमा उत्पादन प्लान्ट रहेको यो कम्पनीको नेतृत्व अनुभवी व्यवसायी रमेश शर्माले गरिरहेका छन्। सन् २०१७ देखि सञ्चालनमा आएको यो कम्पनीमा अध्यक्ष शर्मा र प्रबन्ध निर्देशक डा. आशिष शर्मा (बाबु–छोरा) को मुख्य भूमिका रहेको छ। कम्पनीको सेयर संरचनामा राम कृष्ण शर्मा, डा. आशिष शर्मा र अनिता शर्माको समान २५÷२५ प्रतिशत तथा निधि अग्रवालको २५ प्रतिशत सेयर स्वामित्व रहेको छ।
एफएमसीजी क्षेत्रमा तीन दशक लामो अनुभव भएका प्रवर्द्धकहरूको संलग्नता र स्थापित वितरण सञ्जाल नै कम्पनीको मुख्य सबल पक्ष रहेको रिपोर्टमा उल्लेख छ। कम्पनीले देशभर १६३ जना आधिकारिक वितरकमार्फत आफ्ना उत्पादनहरू नेपाली बजारका कुना–कुनासम्म पुर्याउँदै आएको छ।
सिङ्गापुर वेभरेजले मुख्यतया कार्बोनेटेड सफ्ट ड्रिंक्स (ग्यास भएका पेय पदार्थ) खण्डमा आफ्नो बलियो उपस्थिति बनाएको छ। कम्पनीको कुल आम्दानीमा यो क्षेत्रको योगदान ७५ प्रतिशतको हाराहारीमा छ। कम्पनीका ‘जिरु’, ‘निम्बु पानी’, ‘फ्रुट जेम्स’, ‘जोइनर’ र ‘नेचुरल्स’ जस्ता ब्रान्डहरूले उपभोक्तामाझ राम्रो स्थान पाएका छन्। कम्पनीले बजारमा जुस र इनर्जी ड्रिंक्ससहित कुल ८८ थरीका प्याकेजिङमा उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। भारतसँगको सीमा नजिक कारखाना हुनुले कच्चा पदार्थ आयात र क्षेत्रीय बजारमा पहुँचका लागि कम्पनीलाई थप लाभ मिलेको छ।
कम्पनीको व्यवसायमा केही चुनौती र जोखिमहरू पनि विद्यमान छन्। पेय पदार्थको व्यापार मौसमी प्रकृतिको हुने भएकाले गर्मी महिनामा उच्च व्यापार र जाडोमा सुस्तता हुने जोखिम छ। चिनी, फलफूलको गुदी (पल्प) र प्याकेजिङ सामग्री जस्ता कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले कम्पनीको लागत संरचनालाई प्रभावित पार्न सक्छ। बजारमा रहेका स्थापित स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डहरूसँगको चर्को प्रतिस्पर्धाले गर्दा विज्ञापन र वितरणमा ठूलो खर्च गर्नुपर्ने बाध्यता छ। कार्यशील पुँजीको सघनता ३५ प्रतिशत रहेको छ र व्यापारिक चक्र १४३ दिनको छ, जसले गर्दा कम्पनीलाई सञ्चालन खर्चका लागि बैंक ऋणमा केही निर्भर रहनुपर्ने अवस्था सिर्जना गरेको छ। तर, विस्तारित क्षमताको सफल सञ्चालन र गुणस्तर कायम राख्न सकेमा आगामी दिनमा वित्तीय साख थप सुधार हुने अपेक्षा रेटिङ प्रतिवेदनले गरेको छ।