काठमाडौं। अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ (एफएनएमआईएस) सम्बन्धी छलफल तथा अभिमुखीकरण गरेको छ। नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र होटल संघ नेपालको समन्वयमा नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो।
अध्यागमन विभागका अनुसार नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण तथा सम्भावित अपराध नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले यो प्रणाली विकास गरिएको हो। विभागले पहिलो चरणमा २०८२ पुस १७ गतेदेखि काठमाडौं उपत्यकाका तारे होटलहरूमा र दोस्रो चरणमा २०८२ फागुन १७ गतेदेखि देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी, मनी एक्सचेन्ज लगायतका संस्थामा प्रणाली लागू गरिसकेको जनाएको छ।
कार्यक्रममा हालसम्म एफएनएमआईएसमा दर्ता नभएका उपत्यकाभित्रका तारे होटल, गेस्ट हाउस तथा रिसोर्टहरूलाई दर्ता प्रक्रियामा सहभागी गराउने, प्रणाली सञ्चालनबारे जानकारी दिने तथा दर्ता कार्यलाई सहजीकरण गर्ने विषयमा छलफल गरिएको थियो। हालसम्म एफएनएमआईएसमा १०१ वटा होटल, ११ वटा ट्राभल एजेन्सी, ३ वटा टेलिकम अपरेटर र ५ वटा एयरलाइन्स कम्पनी आबद्ध भएको छ।
होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले सुरुमा होटल व्यवसायीहरुले पर्यटक व्यक्तिगत सूचना गलत रुपमा प्रयोग हुन्छ कि भन्ने डरले आबद्ध नभएको बताउदै अव यो सिस्टम पर्यटन क्षेत्रकै लागी रहेछ भन्ने बुझेकोले पर्यटकको सूचना दिने गरी रहेकोले सबै जोडिदै जाने बताए।
विदेशीले पर्यटकको रुपमा नेपालमा आएर कुनैपनि गलत काम नगरोस भन्ने उद्धेश्यले यो सिस्टम लागू गरिएको बुझिएकोले सबै होटल व्यवसायीहरुलाई निर्धक्क रुपमा आबद्ध भएर सूचना आदानप्रदानमा सहयोग गर्न समेत उनले आग्रह गरे।
अध्यागमन विभागले भिसा उल्लंघनदेखि विभिन्न अपराधमा संलग्न भएका ६ सय ७५ जना विदेशीहरूलाई निष्कासित गरेको जानकारी दिइएको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नेपालको आतिथ्यता विश्वभर परिचित रहेको उल्लेख गर्दै यही कारण ४० प्रतिशतभन्दा बढी पर्यटकले नेपालमा पुनः भ्रमण गर्ने गरेको बताए। उनले नेपालको पर्यटन विकासमा होटल, रिसोर्ट तथा होमस्टे क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे।
सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट नेपालको पर्यटन क्षेत्र विस्तार हुँदै आएको उल्लेख गर्दै घिमिरेले एफएनएमआईएस प्रणालीको प्रभावकारी प्रयोगले पर्यटकको भ्रमणलाई अझ सुरक्षित बनाउनुका साथै सेवा प्रवाहमा गुणस्तर बढाउने विश्वास व्यक्त गरे।
साथै सम्बन्धित संस्थाका व्यवस्थापक तथा प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो ।
अध्यागमन विभागले पर्यटन क्षेत्रसँग आबद्ध सबै संस्थालाई एफएनएमआईएस प्रणालीमा आबद्ध भई विदेशी पर्यटकको विवरण व्यवस्थापनलाई व्यवस्थित र विश्वसनीय बनाउन आग्रह गरेको छ।