काठमाडौं। नेपालमा विदेशी पर्यटकको आगमन मात्र होइन, उनीहरूको बसाइँ अवधिसमेत बढेको देखिएको छ। पछिल्लो एक दशकमा झण्डै ८४ लाख पर्यटक नेपाल भ्रमणमा आएका छन्। उनीहरूको औसत बसाइँ अवधि बढेर १६.३४ दिन पुगेको छ।
सरकारले पर्यटन पूर्वाधार विस्तार, नयाँ गन्तव्यको विकास र पर्यटन क्षेत्रको विविधीकरणमार्फत नेपाललाई अझ आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य अघि सारेको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सन् २०१६ देखि २०२५ सम्म नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ८३ लाख ८५ हजार पुगेको छ। सर्वेक्षणले पर्यटक आगमनसँगै उनीहरूको औसत बसाइँ अवधि बढेर १६.३४ दिन पुगेको उल्लेख गरेको छ।
सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२५ मा १.३ प्रतिशतले वृद्धि भई ११ लाख ६२ हजार ३६५ पुगेको छ। सन् २०२४ मा पर्यटक आमगन १३.१ प्रतिशतले बढेको थियो।
पर्यटक आगमन वृद्धि भएसँगै भ्रमण आयमा समेत वृद्धि हुँदै गएको छ। सन् २०२५ मा भ्रमण आय ४.८ प्रतिशतले वृद्धि भएको छ। सन् २०२४ मा पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय ८३ अर्ब ३९ करोड ४० लाख रहेकोमा सन् २०२५ मा बढेर ८७ अर्ब ३७ करोड १६ लाख पुगेको छ।
बसाइँ अवधि बढ्यो, औसत खर्च घट्यो
सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको बसाइँ अवधिमा उल्लेख्य वृद्धि भएको छ। सन् २०२४ मा प्रतिपर्यटक औसत बसाइँ अवधि १३.३० दिन रहेकोमा सन् २०२५ मा १६.३४ दिन पुगेको छ। बसाइँ अवधि बढे पनि प्रतिपर्यटक औसत दैनिक खर्चमा गिरावट आएको छ।
सन् २०२४ मा प्रतिपर्यटक दैनिक औसत खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा ३३.०८ अमेरिकी डलर रहेको छ। सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणालीबाट अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति प्रविष्ट गरेपछि स्वचालित हिसाबले गणना हुने प्रबन्ध गरिएकाले पर्यटकको प्रतिदिन औसत खर्चसमेत सोही अनुपातमा घटेको हो।

सन् २०२५ मा नेपाल आएका पर्यटकमध्ये ६०.२ प्रतिशत बिदा र मनोरञ्जनका लागि आएका थिए। तीर्थयात्राका लागि १४.४ प्रतिशत, पदयात्रा र पर्वतारोहणका लागि १४.२ प्रतिशत र अन्य प्रयोजन (व्यापार, अध्ययन, भ्रमण वा अन्य विविध)को लागि ११.२ प्रतिशत पर्यटक नेपाल आएका थिए।
सन् २०२५ मा आएका पर्यटकमध्ये भारतबाट २ लाख ९३ हजार, अमेरिकाबाट १ लाख १३ हजार, चीनबाट ९६ हजार, बेलायतबाट ५९ हजार, बंगलादेशबाट ५८ हजार, अस्ट्रेलियाबाट ५० हजार, श्रीलंकाबाट ३८ हजार, थाइल्याण्डबाट ३० हजार, जर्मनीबाट ३० हजार, जापानबाट २५ हजार र अन्य मुलुकबाट ३ लाख ७१ हजार आएका छन्।
हिमाल चढ्नेको संख्या ९.१ प्रतिशतले बढ्यो
सन् २०२५ मा पर्वतारोहण क्षेत्रमा आउने पर्यटकको संख्या २०२४ को तुलनामा ९.१ प्रतिशतले बढेको छ। सन् २०२४ मा ९ हजार १९१ जना पर्वतारोही रहेकोमा २०२५ मा २ हजार ५९० पुगेको हो। यो संख्या २०२४ को तुलनामा २०२५ मा ६.८ प्रतिशतले बढेर ९ हजार ८२० पुगेको हो।
योसँगै पर्वतारोहण क्षेत्रबाट आउने रोयल्टीसमेत बढेको छ। २०२४ मा पर्वतारोहणबाट ९२ करोड ८२ लाख रोयल्टी पाएको सरकारले २०२५ मा बढेर १ अर्ब ३६ करोड २६ लाख पुगेको छ।
तारे होटलको संख्या २२२ पुग्यो
डिलक्स श्रेणीसहितका तारे होटलको सख्या विं.सं. २०८१ फागुनमा २१४ रहेकोमा विं.सं. २०८२ फागुनमा २२२ पुगेको छ। यसैगरी तारे स्तरमा वर्गीकृत नभएका तर पर्यटक स्तरीय सेवा प्रदान गर्ने डिलक्स र लक्जरी हेरिटेज बुटिक होटल, होटल, लज तथा रिसोर्टको संख्या पनि वृद्धि भएको छ। तारे स्तरबाहेकका पर्यटकीय होटलको संख्या विं.सं. २०८१ फागुनमा १ हजार ३६४ रहेकोमा २०८२ फागुनमा १ हजार ३८३ पुगेको छ।
पछिल्लो अवधिमा क्यासिनोप्रतिको आकर्षण बढ्दै गएसँगै क्यासिनोको संख्यासमेत बढेको छ। विं.सं. २०८१ असारसम्म क्यासिनोको संख्या २९ रहेकोमा विं.सं. २०८२ फागुनसम्म यस्तो संख्या ३६ पुगेको छ।
नेपाल आउने अन्तर्राष्ट्रिय एयरलाइन्सको संख्या बढ्यो
विं.संं २०८२ फागुनसम्म ५ नेपाली र २७ विदेशी गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीको सख्या बढेर ३२ पुगेको छ। विं.सं. २०८१ फागुनसम्म २१ रहेको थियो।
यस अवधिमा द्विपक्षीय हवाई सेवा सम्झौताको संख्या भने यथावत ४२ रहेको छ। दुईतर्फी हवाई सिट क्षमता विं.सं. २०८१ फागुनमा ८९ लाख ७३ हजार रहकोमा २०८२ फागुनमा करिब ९१ लाख ९२ हजार पुगेको छ।