काठमाडौं। नेपालको एक मात्र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले जुन ०४, २०२६, देखि काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेनबीच ऐतिहासिक सिधा उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ।
हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शेन्जेनस्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई सिधा उडान सेवा आरम्भ गर्ने भएको हो। यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको कम्पनीले जनाएको छ।
एयरलाइन्सले काठमाडौँ–शेन्जेन–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा दुई उडान सञ्चालन गर्ने छ। काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान गर्नेछ भने शेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ।
यो नयाँ सेवा सुरु गर्न पाउँदा रोमाञ्चित रहेको भन्दै एयरलाइन्सले यसले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने उल्लेख गरेको छ। काठमाडौँ–शेन्जेन–काठमाडौँ मार्गलाई प्रवद्र्धन गर्दै यात्रुहरूका लागि आरामदायी र रमणीय यात्रा विकल्पहरू उपलब्ध गराउने लक्ष्य राखेको जनाइएको छ।
हिमालय एयरलाइन्सले यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ। यो मार्गमा उडान शुभारम्भ भएसँगै नेपाल र चीन दुवै लाभान्वित भई पर्यटन र व्यापारिक अवसरहरू बढ्ने अपेक्षा गरेको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सुरु हुन लागेको ऐतिहासिक काठमाडौँ–शेन्जेन–काठमाडौँ उडानप्रति उत्साह व्यक्त गर्दै भने,‘हिमालय एयरलाइन्सले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको छ। त्यसैले नयाँ बजार खोज्न हाम्रो योगदान उल्लेखनीय छ। काठमाडौँ–शेन्जेन–काठमाडौँ रुटमा सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिक–नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो एयरलाइन्सको उद्देश्यलाई प्रोत्साहन गर्दछ। यो ऐतिहासिक उडानको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको छ। हामी हाम्रा उडानहरूमा यात्रुहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीन दुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ।’
हिमालय एयरलाइन्ससँग यात्रा गर्न चाहने यात्रुहरूले एअरलाइन्स्को टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्स्को आधिकारिक वेबसाइट र हिमालय एयरलाइन्स मोबाइल एप्लिकेसनबाट पनि काठमाडौँ–शेन्जेन–काठमाडौँ उडानको टिकट बुक गर्न सक्ने जनाइएको छ।