काठमाडौं। सत्तारुढ भारतीय जनता पार्टीको निम्तोमा पाँचदिने भ्रमणका लागि आइतबार भारतको नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नीतिन नवीनलगायतका नेताहरुसँग राजनीतिक भेटवार्ता गर्दै छन्।
नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा हुने भेटवार्तामा छिमेकी दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल केन्द्रित हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
सभापति लामिछानेले भारत भ्रमणका बेला हिन्दुस्तान टाइम्समा लेख लेख्दै रक्सोल–काठमाडौं रेलमार्ग र सीधा हवाई उडानसहित आठबुँदे प्रस्ताव अगाडि सारेका छन्। नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर विकास कूटनीतिमा जोड दिनुपर्ने उनको सझुाव छ।
लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर ‘विकास कूटनीति’को आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने प्रस्ताव गरेका छन्। उनले नेपाल–भारत सम्बन्धको अब शब्दावली नै परिवर्तन गर्नुपर्ने तर्क गर्दै सहकार्यका विभिन्न प्रस्ताव राखेका छन् ।
उनका अनुसार अब सम्बन्ध भूराजनीतिक तनाव होइन, लगानी, व्यापार, ऊर्जा, पर्यटन र आर्थिक साझेदारीमा आधारित हुनुपर्ने तथा कूटनीतिक नियोगहरूलाई राजनीतिक सम्पर्क केन्द्रभन्दा लगानी, व्यापार र आर्थिक सहकार्यको ‘इन्जिन’ का रूपमा रुपान्तरण गर्नुपर्छ ।
भारत भ्रमणका बेला ‘आकांक्षी नेपाल र उदीयमान भारतले सम्बन्धलाई कसरी पुनः जोड्न सक्छन्?‘ शीर्षकको लेखमार्फत उनले सीमा विवाद समाधानका लागि संवादमा जोड, रक्सौल–काठमाडौं रेललाई प्राथमिकता, पोखरा र लुम्बिनीबाट भारतमा सीधा हवाई उडान, ‘काठमाडौं–बेंगलुरु डिजिटल करिडोर’ अवधारणा, भारतीय शैक्षिक तथा स्वास्थ्य संस्थाहरू नेपालमा विस्तार, सीमा क्षेत्रमा रासायनिक मल उद्योग प्रस्ताव, जलविद्युत् र ऊर्जा बजार एकीकरणमा जोड, आईपीएलमा नेपाली खेलाडी र रंगशालाको सहभागिताका लागि उनले प्रस्ताव गरेका छन्।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमाी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, र स्वकीय सचिव प्रदीप आचार्य रहेका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले अध्यक्ष लमिछानेको उच्चस्तरीय भेटघाट तथा कार्यक्रमलाई सहज बनाउन निकट समन्वय गरिरहेको जनाएको छ।