पोखरा। पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एन्ड स्पाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा होटल निर्माणमा योगदान पुर्याउने शिल्पकार, इन्जिनियर, परामर्शदाता तथा कर्मचारीहरूलाई सम्मान गरेको छ।
चिल्ली ग्रुपको लगानीमा करिब १ अर्ब २५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको होटलले पहिलो वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा मात्र नभई निर्माण यात्रामा साथ दिने प्राविधिक, परामर्शदाता, वित्तीय साझेदार, डिजाइनर तथा श्रमिकहरूको योगदानको कदर गर्ने अवसरका रूपमा लिँदै उनीहरुलाई सम्मान गरेर मनाएको हो।
कार्यक्रममा होटल निर्माणको सुरुआतदेखि सम्पन्नतासम्म योगदान पुर्याउने शिल्पकारहरू लक्ष्मण गडाल, कृष्ण गडाल, मञ्जुर आलम, विष्णु विक तथा जसबहादुर विक लाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। त्यसैगरी सूर्यबहादुर थापा (सुपरभाइजर), ओमप्रसाद रिजाल (निर्माण व्यवसायी), गुप्ता गिरी (पूर्व रेसिडेन्ट म्यानेजर), रमेश पोखरेल (इन्जिनियर), सुशोभन देवकोटा (ग्लोबल आइएमई बैंक), सीए लक्ष्मण अधिकारी, आर्किटेक्ट सुरेश श्रेष्ठ, इन्जिनियर दिलीप न्यौपाने, कास्की जिल्ला टेनिस संघका संस्थापक अध्यक्ष विनोद कायस्थ तथा होटलका एफ एन्ड बी विभागका विवश कुमाललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो।
चिल्लि ग्रुपका अध्यक्ष विश्वराज पौडेलले आफ्नो भावना जोडिएको पैत्रिक घर भत्काएर सोही स्थानमा होटल निर्माण गर्दै गर्दा सफलता असफलताका चुनौतीलाई पनि स्मरण गरे। उनले साझा सोच साझा उद्देश्यका व्यवसायिक यात्रामा निरन्तर लागि परिरहेको जनाउँदै यो सुन्दर संरचना निर्माणमा पर्दा पछाडिका सृजनात्मक मनहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए।
होटलका प्रबन्ध निर्देशक भीष्मराज पौडेलले होटलले पहिलो वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी यसको निर्माण यात्रामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याउने शिल्पकार, प्राविधिक, कर्मचारी तथा साझेदार संस्थाहरूलाई सम्मान गरेर श्रम, सीप र समर्पणको कदर गर्ने सन्देश बोकेको बताए। उनले भने, “१८ वर्षअघि एउटा सानो ‘चिल्ली बार एन्ड रेस्टुरेन्ट’ बाट सुरु भएको व्यावसायिक यात्रा अहिले छ वटा ठूला संस्थासम्म विस्तार भएको छ, पारिवारिक साथसँगै सकारात्मकसाथ ऊर्जा दिने सम्पूर्णको योगदान उत्तिकै छ।” उनका अनुसार होटलले हाल ६५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले पोखरामा होटलहरूको संख्या बढ्दै गए पनि उच्चस्तरीय बुटिक होटलको माग रहेको र पोखरा आउने पर्यटकको रोजाइम बुटिक होटल पर्ने गरेको बताए। उनले भने, “पोखरामा करिब ४० हजार बेड क्षमताका पर्यटकीट होटल भए टेम्पल बेल बुटिक जस्ता होटलको मौलिक पहिचानले धेरैलाई आर्कषित गर्छ यस्तो सुन्दर संरचना बनाउनेहरुको खोजी गर्दै सम्मान गर्नु निकै सकारात्मक हो।” उनले व्यवसाय केवल आर्थिक लाभको माध्यम नभई समाज र समुदायप्रति उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गर्दै टेम्पल बेल होटलले पर्यटन क्षेत्रको विकाससँगै रोजगारी सिर्जना र स्थानीय संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले होटलले पोखराको पर्यटन क्षेत्रमा गुणस्तरीय आतिथ्य सेवा र मौलिक नेपाली पहिचानलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले पोखराको पर्यटन उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन यस्ता लगानी तथा नवीन अवधारणाका होटलहरूको आवश्यकता रहेको उल्लेख गरे।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले दाजुभाइबीचको विश्वास, पारदर्शिता र साझा उद्देश्यले व्यवसायिक सफलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए।
सम्मानित शिल्पकार जगतबहादुर विकले होटल निर्माणमा आफ्नो श्रम र सीपको कदर गर्दै सम्मान गरेकोमा होटल परिवारप्रति आभार व्यक्त गरे। उनले यस्ता सम्मानले श्रमिक र शिल्पकारहरूको आत्मबल बढाउने तथा आगामी दिनमा अझ गुणस्तरीय काम गर्न प्रेरणा मिल्ने बताए।
साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटल सन् २०२१ डिसेम्बरमा निर्माण सुरु भएको होटल कोभिड–१९ महामारी तथा विभिन्न प्राविधिक चुनौतीबीच सम्पन्न भएको हो। लेकसाइडको प्रमुख पर्यटकीय क्षेत्रस्थित होटलमा ४५ वटा सुविधासम्पन्न कोठा, स्वीट तथा डिलक्स रुम, आधुनिक स्पा, रेष्टुरेन्ट, कफी सप, सम्मेलन हल, बेसमेन्ट पार्किङ तथा अत्याधुनिक लिफ्टको व्यवस्था रहेको छ।
कर्पोरेट म्यानेजर लेखनाथ पहारीका अनुसार हाल होटलले स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गरिरहेको छ। आगामी दिनमा होटलले स्थानीय संस्कृति, नेपाली मौलिकता र पर्यावरणमैत्री अवधारणालाई थप प्रवद्र्धन गर्दै पोखराको पर्यटन विकासमा योगदान पुर्याउने योजना राखेको छ।